अत्तरिया - आज भन्दा ३ दशक पहिले अर्थात २०४१ सालमा तत्कालिन मालाखेती गा।वि।स हालको गोदावरी नगरपालिका वडा नं ३ मा स्वास्थ्य चौकीको स्थापना भयो । गरिब , निम्न आयस्तर भएका , उपचार गराउनवाट बञ्चित रहेका यस क्षेत्रका जनताहरुको सेवा सुबिधाका लागि स्थापना भएको उक्त स्वास्थ्य चौकी पछि २०६१ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा विकास गरियो ।
त्यसपछि सरकारले २०७० सालमा मालाखेती प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर १५ शैययाको अस्पताल बनाउने निर्णय गञ्र्यो र मालाखेती अस्पतालका रुपमा परिणत भयो । गोदावरी नगरपालिकासंगै छिमेकी स्थानिय तहका नागरिकहरुको स्वास्थ्य सेवामा प्रत्यक्ष सम्बन्ध राख्ने उक्त अस्पतालमा अहिले सम्म शुद्ध पिउने पानीको भने अभाव नै रहेको छ ।
स्थापना भएको तिन दशक भन्दा बढि भएपनि मालाखेती अस्पतालमा अहिलेसम्म शुद्ध पिउने पानीको सुबिधा छैन । अस्पताल जस्तो अति सम्बेदनशिल क्षेत्रमा अहिले सम्म पिउनका लागि शुद्ध पानीको ब्यबस्था नहुदा अस्पतालसम्म पुग्ने बिरामी र अस्पतालका कर्मचारीहरुलाई समस्यामा हुने गरेको छ ।
मालाखेती अस्पतालका मेसु डा. पदम प्रकास देब शर्माले अस्पतालमा खानेपानी नहुदा साह्रै समस्या भैरहेको बताए । उनले अहिले पिउनका लागि अस्पताल नजिकै रहेको नवज्योति बिधालयवाट पानी ल्याएर पिउनुपर्ने बाध्यता रहेको गुनासो गरे । उनले अस्पतालमा खानेपानीको धारा निर्माणका लागि काम भैरहेको सुनेपनि बाकीँ काम के भइरहेको छ भन्ने बारे आफुलाई जानकारी नभएको बताए ।
अहिले अस्पतालमा खानेपानीको सुबिधा नहुदा अस्पतालका स्वास्थ्यकर्मीहरु र कर्मचारीहरु दैनिक नजिककैको बिधालयमा रहेको खानेपानीको धारावाट ल्याएको पानी पिउदै आएका छन् । सरसफाईको लागि भने अस्पतालमा भएको मोटरको पानी प्रयोग गर्दै आईरहेको कर्मचारीहरु बताउदछन् ।
पहिला अन्य समिति मार्फत संचालन भैरहेको अस्पताल अहिले भने गोदावरी नगरपालिका मातहत आएको छ । अस्पतालमा खानेपानी निर्माणका लागि नगरपालिका उदासिन हुदा खानेपानीको समस्या जस्ताको त्यस्तै रहेको हो । गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँद आफै अध्यक्ष भएको यस क्षेत्रको सबैभन्दा पुरानो अस्पतालमा खानेपानीको सुबिधा नहुदा अस्पताल सम्म पुग्ने बिरामी सहित अस्पतालकै कर्मचारीहरु अरु ठाँउवाट ल्याएर पानी पिउदै आएका छन् ।
उता गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँदले खानेपानीको धारा निर्माणका लागि काम भैरहेको बताए । उनले अहिले अस्पताल परिसरमा खानेपानीका लागि थुप्रै ठेकेदारहरुले काम अगाडी बढाएपनि पानी नआउदा छोडेर गएको बताए । उनले अहिले अस्पतालमा खानेपानीको ब्यबस्थाका लागि निरन्तर प्रयास भैरहेकाले अब चाडै पानीको ब्यबस्था गरिने बताए ।
इमरजेन्सी सेवा सुचारु पछि बिरामीहरु बढे
अहिले मालाखेती अस्पतालमा बिरामीहरुको संख्या बढ्दै जान थालेको छ । उक्त अस्पतालवाट अहिले दैनिक ७० देखी ८० जनाले सेवा लिइरहेका छन् । मालाखेती अस्पतालमा अहिले गोदावरी नगरपालिकासंगै छिमेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका र चुरे गाँउपालिकावाट पनि बिरामीहरु आउने गरेका छन् ।
अहिले अस्पतालले इमरजेन्सी सेवा पनि सुचारु गरेको छ । गत मंसिर ८ गतेदेखी सुरु भएको इमरजेन्सीमा अहिले सम्म सय जना भन्दा बढिले सेवा लिएका छन् । मालाखेती अस्पतालका सुचना अधिकारी एबम् इमरजेन्सी वार्डका इन्चार्ज एकेन्द्र बुढाका अनुसार मंसिर महिनामा २५ जना , पुसमा ३५ जना र माघ महिनामा ३९ जनाले इमरजेन्सीमा सेवा लिएका हुन् ।
बढिजसो गोदावरी नगरपालिका वडा नं ३ , १० , ११ र १२ संगै कृष्णपुर नगरपालिकावाट बिरामीहरु आउने गरेको उनले बताए ।