अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँदले समयको माग अनुसार हामीले आफुलाई परिर्वतन गर्न सक्नुपर्ने बताएका छन् । गोदावरी नगरपालिकाको महिला तथा बालबालिका शाखाले आज देखी सुरु गरेको लैगिंक तथा सामाजिक परामर्श सम्बन्धि अन्तकृया कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख साउँदले समयको माग अनुसार मानव जिवनलाई परिर्वतन गर्न सिक्नुपर्ने बताएका हुन् ।
'हामी अझै पनि उही पुरानै रुढिबादी परम्परामा रहेका छौ , मेरो बाजेले यस्तो गरेका थिए , मेरो बुवाले यस्तो गरेका थिए' उनले भने - 'होइन अब हामीले ति पुराना कुरीत र कुसंस्कारलाई हटाएर नयाँ सोचका साथ अघि बढ्न सक्नुपर्छ ।' उनले पुरानो सोचको र बिचारका कारणले अहिले सम्म गाँउ , समाज र देशको विकास हुन नसकेको बताए । पुराना परम्परामा पनि सबै नराम्रा कुराहरु मात्रै छन भन्ने होइन त्यसमा पनि केहि राम्रा पक्षहरु रहेका छन् । उनले आफुलाई नै समस्यामा पार्ने नराम्रा कुराहरुलाई हटाएर राम्रा कुरालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताए ।
अहिले छाउपढी प्रथा , बोक्सीको आरोप , महिला तथा पुरुष माथि हुने बिभिन्न खालका रुढिबादी परम्पराहरुले समाजमा जरो गाढेर बसेकाले अब सबैले मिलेर यसलाई न्युनिकरण गर्नुपर्ने उनको भनाई छ ।
'अहिले पनि धेरै जसो ठाउँमा ज्वरो आउदा , टाउको दुख्दा धामी झार्कीहरुलाई बोलाएर फुकफाक गराउने र निको पर्ने पुरानो परम्परा कायमै रहेको पाइन्छ । हेर्नुस अहिले नयाँ नयाँ नाम नै नसुनिएका रोगहरु फैलिरहेका छन् , बिदेशमा धेरैले अकालमै ज्यान गुमाइरहेका छन् उनले भने -'यस्तो अबस्थामा हामी सबै सचेत बन्नुपर्छ , आफ्नो सरसफाई , खानपिन र नियमित ब्यायामलाई अगाडी बढाउदै लगेमा मानिस आफै स्वास्थ्य रहन्छ ।'
उनले मानव जिवनका लागि सबै भन्दा ठुलो धनसम्पत्ति भनेकै उसको स्वास्थ्य भएकाले स्वास्थ्यलाई सबै भन्दा पहिला प्रथामिकता दिनुपर्ने बताए । गोदावरी नगरपालिकाले पनि आफ्नो नगरभित्र रहेका कुरीति , कुसस्कारहरुलाई हटाएर नयाँ सोच र बिचारका साथ अगाढी बढाएर सम्बृद्ध नगर बनाउने योजना बनाएर काम गरिरहेको बताए ।
यसका लागि एक्लै नगरपालिकाले गरेर मात्र नहुने बताउदै उनले सबै नगरबासीहरु सचेत बनेमा सम्बृद्ध नगर बन्न धेरै समय पर्खिनु नपर्ने उनको भनाई छ । गोदावरी नगरपालिकाको महिला तथा बालबालिका शाखाले आजदेखी नगरपालिकाको १२ ओटै वडाहरुमा बालबिवाह, बहुबिबाह,छाउपढि प्रथा, छुवाछुत लैगिंक हिंसा जस्ता सामाजिक कुरीतिहरुलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने अभियानका साथ अन्तकृया कार्यक्रमको आयोजना गरेको छ ।
सोहि अनुसार आज वडा नं १ वाट उक्त अभियानको सुरुवात गरिएको हो । गोदावरी नगरपालिका नगरप्रमुख हरि सिं साउँदको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी ज्ञान बहादुर बिष्टले सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो । गोदावरी नगरपालिका वडा नं १ मा रहेका धामी , झार्की , युवा क्लब , बाल क्लब , विभिन्न आमा समुह , स्थानिय महिला , पत्रकार सहभागि उक्त कार्यक्रमको संचालन महिला विकास अधिकृत गोदावरी खत्रीले गर्नुभएको थियो ।