अत्तरिया - कैलालीको अत्तरिया बसपार्कको पार्किङ शुल्क बाफत संकलन गरिदै आएको रकम यस बर्ष गोदावरी नगरपालिकाले आफै उठाउन थालेको छ । सुदूरपश्चिम प्रदेशको राजधानी एबम् मुख्य प्रवेसद्धारा रहेको अत्तरिया बसपार्कमा पार्किङ्ग शुल्क संकलनका लागि नगरपालिकाले ३ पटक सम्म बोलपत्र आह्वान गरेपनि कसैको आवेदन नपरेपछि नगरपालिकाले आफै रकम उठाउन सुरु गरेको हो ।
चालु आर्थिक बर्षमा पार्किङ्ग शुल्क उठाउनका लागि नगरपालिकाले सुरुमा गएको साउन महिनामा ६६ लाखमा बोलपत्र आह्वान गरिएको गोदावरी नगरपालिकाका आन्तरिक राजश्व शाखा प्रमुख राजेश प्रसाद जोशीले बताए ।
बोलपत्र सुचना प्रकाशित भएको मितिले २१ औँ दिन भित्र सम्पर्कमा आएर नगरपालिका कार्यालयबाट बोलपत्र खरिद गर्न सकिने समय तोकिएमा कसैको आवेदन नपरे पछि दोस्रो पटक बोलपत्र आह्वान गरिएको उनले बताए । उनले दोस्रो पटक सोही रकममा बोलपत्र आह्वान गरिए पनि त्यो समयमा पनि कसैले रुचि नदेखाएको बताए ।
दोस्रो पटक पनि सुचना जारी गर्दा कसैको आवेदन नपरेपछि त्यसको एक महिना पछि ६६ लाखबाट घटाएर ५० लाखको पुनः बोलपत्र आह्वान गरिएको थियो । त्यो पछि पनि कसैको आवेदन नपरेका अन्तिममा नगरपालिकाले आफै रकम संकलन गर्ने निर्णय गरेको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकारी दिए ।
३ पटक सम्म बोलपत्र आह्वान गर्दा पनि कसैले रुचि नदेखाएपछि नगरपालिकाले अहिले आफैले आफै रकम संकलन गर्न सुरु गरेको उनले बताए । दैनिक १२ हजार रुपैया संकलन भैरहेको बसपार्कमा रकम उठाउनका लागि अहिले २ जना नगरपालिकाका कर्मचारी र २ जना नगरप्रहरी खटाइएको बताए ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर लामो समय सम्म भएको लकडाउन र त्यसपछि पनि बिभिन्न जिल्लाहरुमा पुन निषेधाज्ञा भैरहेका कारणले कसैले रुचि नदेखाएको हुन सक्ने उनले बताए । 'यस बर्ष कोरोना कहरका कारण सबै क्षेत्र प्रभावित भएका छन् सबै सवारी साधनहरु अझै पनि संचालनमा आउन सकेका छैन , सावारी साधनमा यात्रा गर्ने यात्रुहरु नै छैनन्' उनले भने - 'त्यसैले पनि कसैले ठेक्का हाल्न नचाहेको हुन कि भन्ने छ ।'
क्षेत्रीय बसपार्कको अबधारण सहित करिब ६ बर्ष पहिले गोदावरी नगरपालिका २ स्थित दुर्गालक्ष्मी महिला सामुदायिक बन क्षेत्रमा निर्माण गरिएको अत्तरिया बसपार्क साउन १ गते बाट गोदाबरी नगरपालिकाको मातहातमा लगिएको थियो । बसपार्क व्यवस्थापन समितीको मातहतमा रहेका बसपार्क नगरपालिका मातहत गएपछि पाकिङ शुल्क संकलनका लागि ठेक्का प्रक्रिया दिदै आएको छ ।
जस अनुसार गत वर्ष बसपार्क शुल्कवाफत एक करोड संकलन भएको थियो । नगरपालिको आन्तरिक आयलाई बढाएर नगरकै विकासका लागि उपयोग गर्ने गरी बसपार्कबाट पार्किङ्ग शुल्क संकलन गर्न थालिए हो ।