धनगढी - साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले मिडिया काउन्सिल विधेयक सरकारले फिर्ता लिनुपर्ने बताएका छन्। साझा विवेकशील पार्टीले सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचार विरुद्धको अभियानको क्रममा धनगढी पुगेका संयोजक मिश्रले प्रेस क्लब धनगढीको कार्यक्रममा बोल्दै शनिबार यस्तो बताएका हुन्।
‘सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक लोकतन्त्रको मर्ममा प्रहार हो’, उनले भने, ‘नागरिकका आवाजलाई कुण्ठित गर्ने गरी ल्याएको विधेयक फिर्ता लिएर सरोकारवालाको माझमा गएर छलफल गर्नुपर्दछ।’
साझाले भ्रष्टचारको अभियान केवल सचेतनाका लागि भएको समेत उनले बताए। अर्को प्रसंगमा संयोजक मिश्रले भने,‘सरकारले डेढ बर्षमा जनतालाई नत सुशासन दिन सक्यो, नत विकास दिन सक्यो।’
जनतामा निरासा वाहेक केही दिन नसकेको उनको भनाई छ। स्थिर सरकार नहुँदा विकास भएन भन्नेहरु जवरजस्ती दुई तिहाईको सरकार गठन गर्दा पनि जनतालाई विकासको अनुभुति दिलाउन नसक्ने लजास्पद भएको उनको धारणा थियो।
साझा विवेकशिल पार्टीले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भ्रष्टाचार विरुद्धको अभियान सुरु गरेको छ।