कैलाली - सुदूरपश्चिम प्रदेश सभाको बैठक तेस्रो पटक स्थगित भएको छ । अर्थमन्त्री रावल काठमाडौं गएपछि सुदूरपश्चिम प्रदेशसभामा बजेट प्रस्तुत भएको झन्डै दुई सातासम्म पनि छलफल सुरू हुन सकेको छैन । असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले २०७९÷०८० को लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका थिए ।
१ गते प्रस्तुत भएको बजेटमाथि असार ८ गते प्रदेश सभामा छलफल हुने कार्यसूची रहेको थियो । तर, सत्ता पक्ष र विपक्षबाटै विरोधपछि ८ गते प्रदेश सभा बैठक नै नबसी १२ गतेका लागि बैठक आह्वान गरिएको थियो । १२ गते दिउँसो ३ बजे बस्ने भनिएको बैठक पनि आज बस्न सकेन । सरकारले १२ गतेको बैठक १६ गतेसम्म सारिदिन सभामुख अर्जुनबहादुर थापालाई आग्रह गरेपछि बैठक १६ गतेसम्म सारिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
सरकारको तर्फबाट प्रदेश अर्थमन्त्री रावलले नै सभामुख थापालाई फोन गरेर बैठक सारिदिन आग्रह गरेका थिए । यस अघि ८ गते कार्य व्यवस्था परामर्श समितिको बैठकबाट बैठक स्थगित गरिएको भएपनि आज परामर्श समितिको बैठक नबसी स्थगित गरिएको हो । बैठकमा अर्थमन्त्री नै नरहने अवस्था आएपछि बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश अर्थमन्त्री रावल अहिले नेकपा एकीकृत समाजवादीको बैठकमा सहभागी हुन काठमाडौँ पुगेका छन् ।