अत्तरिया – कन्चनपुरको कृष्णपुर नगरपालिका ६ मौरिफाटामा बोन टिबी पिडित धना बोहरालाई आर्थिक सहयोग गरिएको छ । घाटिमा भएको बोन टिबीले थला परेकी बोहरालाई कृषि वन तथा वातावरण बिकास समाजले ११ हजार आर्थिक सहयोग गरेको हो । कृष्णपुर नगरपालिका ५ मा रहेको समाजका अध्यक्ष रमेश भट्टराईले शनिबार कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालको उपस्थितिमा सहयोग रकम पिडितलाई हस्तान्तर गरेका हुन ।
सहयोग रकम हस्तान्तरण गर्दै कृषि वन तथा वातावरण बिकास समाजका अध्यक्ष भट्टराईले बोन टिबी पिडित बोहराको उपचारमा धेरै रकम खर्च लाग्ने भएकाले परिवारलाई उपचारमा समस्या भएका कारण सानै भएपनि राहत पुगोस भन्ने उद्देश्यले रकम सहयोग गरेको बताए । समाजका सचिब ललित साउँदले उपचारमा ठुलो रकम खर्च भएर पनि निको नभएकोले अझै अगाडी उपचार गर्न ठुलो रकम लाग्ने भएकाले बोहराको परिवार समस्यामा परेको थाहा पाएपछि आफूहरुले सहयोग गरेको बताए ।
कृष्णपुर नगरपालिकाका नगरप्रमुख हमालले बोहराको घरायसी आर्थिक अवस्था निकै कमजोर भएकाले कृष्णपुर नगरपालिका लगायत यस क्षेत्रका सम्पुर्णले सहयोग गर्न आवश्यक रहेको बताए । उनले कृष्णपुर नगरपालिकाले पनि बोहराको उपचारका लागि सके जतिको सहयोग गर्ने प्रतिबद्ध व्यक्त गरे । उनले सम्पुर्ण नगरबासीलाई पनि उपचारका लागि सहयोग गर्न आग्रह गरे ।
लामो समय देखि बोन टिबी पिडीत धना बोहराको अहिले भारतको दिल्लीमा उपचार भईरहेको छ । उनलाई अहिले १ महिनाको आषधी दिएर घर पठाईएको छ । उनको उपचारका लागि बिभिन्न अस्पताल धाउँदा पनि रोगै पत्ता नलागेपछि भारतको बरेली लगेर मात्रै बोन टिबी भएको खुलेको धना बोहराका श्रीमान तुला राम बोहराले बताए ।
उनले यस क्षेत्रका बिभिन्न अस्पतामा देखाउदा पनि निको नभएपछि भारत लगेको बताए । उनले बोन टिबी भएको पत्ता लागेपछि पनि बरेलीमा उपचार सम्भव नभएकाले दिल्ली लग्न भनिएको बताए । निकै ढिला गरी बोन टिबी भएको पत्ता लागेकाले उनको उपचार जटिल बनेको चिकित्सकहरुले बताएको तुलारामले बताए ।
उनले जेठ २९ गते देखि दिल्लीमा उपचार गराईरहेको र अहिले सम्म धेरै ठाउँबाट रिण गरेर भएपनि उपचार गरेको भएपनि अझै धेरै खर्च र लामो समय उपचार गराउनु पर्ने भएकोले समस्या भएको बताए । उनले घरको आर्थिक अवस्था कमजोर भएकाले निकै समस्या भोग्दै आएको बताए ।