सयौं वर्ष देखि
श्रम र पसिना
लुटिदै लुटिदै आएका
गरिखाने कला भएका
कर्तव्यनिष्ठ कर्मजिवीहरुले,
पौरख र पसिना सङ्ग
रमाएका श्रमजिवीहरुले,
आखिर कहिले सम्म हो
पिसिनु पर्ने ?
उई बेलाका बसिखाने र
लुटिखानेहरुले बनाई दिएको
विभेद जाँतो मुनि ।
अनौठो छ है ,
आफ्नो लाज छोप्न
दर्जीले सिलाएको लुगा चल्यो ,
महारानी साहेब लाई सजाउन
सुनारले बनाएको सुन चल्यो ,
लोहारले फलाम कुटेर बनाएको
खेत जोत्ने फाली चल्यो ,
उसले खनजोत गरि उब्जाएर
दैलो सम्म पुर्याई दिएको अन्न चल्यो ,
उसले ढुङ्गामा कलाकृति कोरेको
कहिँकतै नदेखिने
भगवानको मुर्ति चल्यो ,
वाह रे वाह
कस्तो गज्जबको लुटने
जात व्यवस्था बन्यो ,
उई बेला
जो अहिलेसम्म
चलेको चल्यै छ ।
कथित उच्च जातको
उपेक्षा र तिस्कारमा
अहंकार र घमण्डमा
दमन र दलनमा
शोषण र उत्पीडनमा
निस्सासिएर
दबिएर
हेपिएर
चेपिएर
आखिर कहिले सम्म हो बस्नु पर्ने ?
विभेद को जाँतो मुनि ।
अब पनि लाग्दैन र ?
बेला आए जस्तो ,
श्रम , पसिना र
अन्यासै बगेको रगतको मुल्य खोज्ने ।
– विरेन्द्र शाह