प्याजको मुल्यमा अत्याधिक बृद्धि भएको छ । ९५ प्रतिशत प्याज भारतबाट आउने गरेको भएपनि पछिल्लो समय भारतले प्याजमा प्रतिबन्ध लगाउँदा नेपालमा प्याजको मुल्य आकाशिएको हो । अहिले चीन र भारतबाट लुकिछिपि प्याज ल्याउने गरिएको छ । जसले गर्दा अहिले प्याज निकै महङ्गो भएको छ ।
प्याजको खेति सजिलै गर्न सकिने भएपनि यसको नेपालमा भने व्यवसायीक उत्पादन भएको पाईदैन । उत्पादन गरेको प्याज पनि उत्पादन भएको केहि महिना मात्रै रहने र बाकी समय भारतबाट नै प्याज आयात गर्नु पर्ने बाद्यता छ । प्याजको उत्पादन बढाउनको लागि राज्यस्तरबाट आवश्यक कार्यक्रम हुन नसकेकोले पनि यसको उत्पादन बढ्न सकेको छैन । प्याज खेती मौसमी र वेमौसमी दुबै तरिकाबाट गर्न सकिन्छ । तराईको क्षेत्रमा अहिले प्याज खेतीको उपयुक्त समय भएको गोदावरी नगरपालिकाका कृषि शाखा अधिकृत बासु देव भट्टराईले बताए । उनले प्याज खेतीका लागि केहि सामान्य जानकारी लिन सके सजिलै गर्न सकिने बताए । कृषि शाखाका अधिकृत भट्टराई संग गरिएको कुराकानीका आधारमा प्याज खेती सम्बन्धि जानकारी प्रस्तुत गरेका छौ ।
प्याज परिचय
प्याज प्रमुख मसालाजन्य तरकारी वाली हो । यसमा स्टार्च, प्रोटिन, भिटामीन ‘बी’ र ‘सी’ प्रचुर मात्रामा पाइन्छ ।
हावापानी
प्याजको वानस्पतिक बृद्धिको लागि कम तापक्रम, छोटो दिन र गानो बढ्नको लागि बढी तापक्रम र लामो दिन चाहिन्छ । नेपालमा तराईदेखि पहाडसम्म यसको खेती गर्न सकिन्छ ।
उपयुक्त जातहरू
रेड क्रियाले, पुसा रेड नासिक रेड–५३
बीउ छर्ने, बेर्ना रोप्ने समय
प्याजका वेर्ना आफै तयार गर्न १ मिटर चौडाई, २ मिटर लम्वाई, १०–१५ से.मि. उचाई भएको व्याडमा ५–७ से.मि. को फरकमा कुलेसो वनाई वीउ खसाल्नु पर्दछ । त्यसपछि छापो हाल्ने र वीउ उम्रेपछि सो छापो हटाउनु पर्दछ । मौसमी प्याज खेतीका लागि मंसिर– पुस देखि माघ फागुन
माटो
बढी उत्पादनको लागि खुकुलो, प्रशस्त प्राङ्गारिक पदार्थ भएको बलौटे दुमट माटो उपयुक्त हुन्छ ।
जग्गाको तयारी
दुई–तीन पटक २० देखि २५ सेमी गहिरो खनजोत गरी जमिन समथर पार्ने । प्याज खेतीको लागि माथिल्लो सतहको माटो सधैं खुकुलो राख्ने ।
बीऊ दर
प्रतिरोपनी ४००–५०० ग्राम (प्रति कठ्ठा २६४–३३० ग्राम) प्रति रोपनी करिब ३३.५०० (प्रति कठ्ठा २२.१००) विरुवा सार्ने ।
मलखाँद
प्याज खेतीमा मलखाद व्यवस्थापनको लागि १०००–१५०० के.जी. गोवरमल, १०–१२ के.जी. नाइट्रोजन, ७–८ के.जी. फस्फोरस तथा ३–४ के.जी. पोटासियम प्रति रोपनी आवश्यक पर्दछ । यस वाहेक विरुवा वर्धक रसायनहरु पनि प्रयोग गर्न सकिन्छ ।
विरुवा सार्ने तरिका, उमेर र दुरी
एउटा हारदेखि अर्को हार बीचको दूरीको फरक १५ सेमी र बोटदेखि बोट सम्मको दूरी १० सेमी राख्ने । बेर्ना सारेको ७ दिनभित्र बेर्ना मरेको ठाउँमा नयाँ बेर्ना सार्ने ।
गोडमेल
झारपात हटाएर माटो खुकुलो बनाइ राख्न कम्तीमा ३ पटक गोडमेल गर्ने ।
सिंचाई
पहिलो पटक बेर्ना रोप्ना साथ र पछि मौसम र माटोको अवस्था हेरि ५ देखि ६ पटक सिंचाई गर्ने । पानी जम्न नदिने । यस्तै प्याजमा गानो नलाग्दै फूल फूल्ने समस्या (कोल्टिङ) पनि हुनसक्छ । यसबाट बचाउन सन्तुलन रूपमा रासायनिक मलको प्रयोग गर्ने, सिफारिस गरिएको जात लगाउने, राम्रोसंग हुर्किएको विरुवा मात्र सार्ने र सकभर पौष महिना भित्रै बेर्ना सारी सक्ने ।
भण्डार
प्याजलाई सुख्खा, चिसो तथा हावा संचार हुने किसिमको भण्डार घर चाहिन्छ । स्थानीय स्तरमा भने खरको छानो भएको हावा राम्रो संचालन हुने जुटको वोराले छोपिएको भण्डारण संरचनामा भण्डारण गर्न सकिन्छ ।