बैतडी - जिल्लाको प्रसिद्ध ईश्वरी गंगा धामदेखि जगन्नाथ मन्दिर सम्मको पदमार्ग निर्माण कार्य शुरु गरिएको छ ।
८ हजार ८४८ सिंढी सहित निर्माण हुन लागेको पदमार्ग निर्माणको काम अघि बढाइएको अनुगमन समितिका संयोजक कर्णबहादुर चन्दले जानकारी दिए।प्रसिद्ध ईश्वरीगंगा धामदेखि गढीमा अवस्थित जगन्नाथ मन्दिर सम्म पुग्ने सिंढी सहितको पदमार्ग निर्माणका लागि अहिले पीसीसी गर्ने कार्य भईरहेको चन्दले जानकारी दिए । सरकारी र निजी क्षेत्रबाट पूर्णता दिने उद्देश्य सहित सो पदमार्ग निर्माणका लागि साढे ९ करोड लागत लाग्ने अनुमान गरिएको छ ।
चालु आर्थिक बर्षमा पदमार्ग निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १० लाख बजेट विनियोजन गरेको छ । एक सिंढी बराबर ११ हजार लागत लाग्ने भएकाले एक व्यक्ति एक सिंढीको अवधारणा समेत ल्याइएको अनुगमन समिति संयोजक चन्दले जानकारी दिए । सिंढी निर्माणका लागि चन्दा दिने व्यक्तिको नाम सिंढीमै उल्लेख गरिने समेत उनले बताए।
धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण रहेको पदमार्ग निर्माणका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको उनले बताए । जगन्नाथ र ईश्वरीगंगा धामको धार्मिक महत्व रहेकाले दुवै स्थलमा दर्शन गर्नेहरुका लागि सजिलो होस भनेर सिंढी सहितको पदमार्ग निर्माणको काम अघि बढाइएको निर्माण समितिका संयोजक नरबहादुर चन्दले जानकारी दिए ।उनले भने ‘जगन्नाथ र ईश्वरीगंगा धाम यो क्षेत्रको आस्थाका केन्द्र हुन् । दुवै ठाउँको दर्शन गर्ने दर्शनार्थीहरुलाई सहज होस भनेर सिंढी सहितको पदमार्ग निर्माणको काम शुरु गरिएको हो ।’
सिंढी सहितको पदमार्ग निर्माण कार्य सम्पन्न भएमा धार्मिक पर्यटकहरुको संख्यामा वृद्धि हुने अपेक्षा समेत गरिएको छ ।