धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले ‘सुदूरपश्चिम प्रदेश सभाको स्थापना दिवस ’का अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन्।
उनले यस अवसरमा आज देश र विदेशमा रहनु भएका सुदूरपश्चिमेली सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै प्रदेश स्थापनाको अभियानमा प्रत्यक्ष वा परोक्षरुपमा अमूल्य योगदान पुर्याउनुहुने समस्त महानुभावहरुप्रति उच्च सम्मान व्यक्त गरे भने राष्ट्र , राष्ट्रिय , राष्ट्रिय स्वाधीनता ,सार्वभौम सत्ताको रक्षा र राष्ट्रिय स्वाभिमानका लागि शहादत गर्नुहुने ज्ञात-अज्ञात शहीद प्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।
एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, 'नेपालको संविधान २०७२ जारी भई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली लागु भए पश्चात २०७४ साल माघ ७ गतेका दिन पहिलो सुदूरपश्चिम प्रदेश सभाको कार्यकाल प्रारम्भ भएको एतिहासिक दिवस मनाइरहँदा सुदूरपश्चिम प्रदेश अभियानमा प्रत्यक्ष वा परोक्षरुपमा अमूल्य योगदान पुर्याउनुहुने समस्त महानुभावहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।'
'वर्तमान सरकारले न्यूनतम कार्यक्रम हरुको निर्माण गरी प्रदेशमा औद्यौगिकीरण, रोजगारीका अवसरको सृजना ,विकास निर्माण , सुशासनको अनुभूति , स्वालम्बन तथा आत्मनिर्भर प्रदेशको स्थापना ,स्वदेशी तथा विदेशी लगानीलाई सुरक्षा र आर्कषण को प्रत्याभूति ,गास बास कपास ,शिक्षा स्वास्थ्य, सुरक्षा जस्ता आधारभूत आवस्यकताको व्यवस्था लगायत प्रदेशको विविध सामाजिक , आर्थिक र भौतिक विकासका सम्पूर्ण प्राथमिक विषयहरुमा प्रतिपक्ष दललाई समेत साथमा लिई सामाजिक न्यायमा आधारित लोककल्याणकारी प्रदेशको रुपमा सुदूरपश्चिम प्रदेशलाई स्थापित गर्ने प्रतिबद्धता जाहेर गर्दछु,' जारी सन्देशमा उल्लेख छ ।