धनगढी -सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धन चुनावी तालमेलबारे सहमति जुटाउन अन्तिम प्रयासमा जुटेको छ । भागबण्डामा कुरा नमिलेको अवस्थामा मित्रवत् प्रतिस्पर्धा गर्ने सैद्धान्तिक सहमतिसमेत गरिसकेका दलहरू अन्तिम प्रयासमा जुटेका हुन् ।
भागबण्डा मिलाउन हिजो राति धनगढीमा बसेको गठबन्धनको प्रदेश स्तरीय बैठक निष्कर्षविहीन भए पनि आज बिहानैदेखि नेताहरू पुनः छलफलमा सक्रिय भएका छन् तर प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले आ-आफ्नै अडान कायम राख्दा अहिलेसम्म सहमति जुट्ने संकेत नदेखिएको नेताहरूले बताएका छन् ।
कैलाली, कञ्चनपुर, अछाम र डोटीमा गठबन्धनको जिल्लास्तरीय नेतृत्वले सहमति हुुन नसकेपछि भागबण्डा टुङ्ग्याउने जिम्मा प्रदेशलाई दिइएको थियो तर प्रदेशस्तरमा समेत सहमति हुन सकिरहेको छैन ।
माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले आफ्नो हैसियतभन्दा बढि भाग खोजेका कारण सहमती हुन नसकेको सत्तारुढ गठबन्धनको प्रमुख शक्ति नेपाली कांग्रेसका नेताहरूले दाबी गरिरहेका छन् । तर माओवादी र समाजवादीका नेताहरू भने ठूलो दलका हैसियतले नेपाली कांग्रेसले आफूहरुलाई पेल्न खोजेको बताएका छन् ।
एकीकृत समाजवादी पार्टी सुदूरपश्चिमका अध्यक्ष विक्रम शाहीले गठबन्धनमा आवद्ध सबै दलहरूले आवश्यकता भन्दा बढी भाग खोजेका कारणले सहमति हुन नसकेको बताए । १३ वटा स्थानीय तह रहेको कैलालीमा एकीकृत समाजवादी पार्टीले ४, नेपाली कांग्रेसले कम्तीमा पनि ८ र माओवादी केन्द्रले ४ ठाउँमा दाबी गरेकाले सहमति हुन सकेको छैन ।
९ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ भने दार्चुला, बझाङ, बाजुुरा र बैतडीमा तालमेल गर्ने निर्णय गरिएको छ । यी बाहेकका चार जिल्ला कैलाली, कञ्चनपुर, डोटी र अछाममा सहमति हुुन नसकेका कारण तालमेलबारेको निर्णय गर्ने जिम्मा प्रदेशलाई दिइएको थियो ।