अत्तरिया - कर्मचारीमा कोरोना देखिन थालेपछि सुदूरपश्चिमका स्थानिय तहहरुले आफ्नो सेवाहरु धमाधम बन्द गर्न थालेका छन् ।
स्थानिय सरकारका रुपमा रहेका सुदूरपश्चिम प्रदेशका स्थानिय तहमा कार्यरत कर्मचारीहरुमा कोरोना देखिन थालेपछि सेवाहरु धमाधम बन्द हुन थालेका हुन् ।
यसैक्र्रममा आजवाट सुदूरपश्चिमको एक मात्रै उपमहानगरपालिकाका धनगढी उप महानगरपालिकाको सेवा बन्द गरिएको छ । मंगलबार उपमहानगरपालिकाले एक सूचना जारी गर्दै केही कर्मचारीमा संक्रमण पुष्टि भएको र केहीमा लक्षण देखापरेकोले सेवा बन्द गरिएको जनाएको छ ।
यस्तै १८ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरिएको सूचनामा उल्लेख छ । यस्तै गौरीगंगा नगरपालिकाले अत्यावश्यक र आन्तरिकबाहेक सबै कामकाज बन्द गर्ने निर्णय गरेको छ भने उता कञ्चनपुरको बेदकोट नगरपालिकाका बुधबारदेखि अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको कर्मचारी, जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएकाले माघ १७ गतेसम्मका लागि सेवा स्थगन गरेको सो कार्यालयले जानकारी दिएको छ । यसैगरि कोरोनाको सङ्क्रमणबाट कार्यालयका कर्मचारी प्रभावित भएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले अर्को सूचना प्रकाशित नहुँदा सम्मका लागि आजदेखि सेवा स्थगन गरेको छ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नियमित कामकाज गरिरहँदा कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोभिड–१९ प्रमाणित भएको र अन्य कर्मचारीमा समेत कोरोनाका लक्षण देखापरेको हुँदा सेवा स्थगन गरेको जनाएको छ।
अर्को सूचना प्रकाशित नहुँदासम्म कार्यालयको आन्तरिक कामकाजबाहेक मतदाता नामावली सङ्कलन तथा अद्यावधिकसम्बन्धी सम्पूर्ण कार्य स्थगन गरिएको जारी सूचनामा जनाइएको छ।
यसअघि निर्वाचन कार्यालयले मतदाता नामावली सङ्लन र अद्यावधिक कामका लागि टोकन प्रणालीमार्फत कार्य गर्दै आएको थियो। यस अघि अत्तरियाको गोदावरी नगपालिकाले पनि कर्मचारीमा कोरोना देखिएको भन्दै नगरपालिकाको अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको थियो ।