अत्तरिया - आजदेखि नेपाली नयाँ बर्ष विक्रम संवत २०७९ साल सुरु भएको छ । २०७८ साललाई बिदाई गर्दै नयाँ बर्षलाई हर्षोउल्लासका साथ देशभर मनाईदैछ । हरेक बर्ष नेपालीहरुले एक आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गर्ने र रमाईलो गर्दै नयाँ बर्ष मनाउने गर्दछन् ।
बिक्रम संवतलाई आधार मानी हरेक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाइन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन्। हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलतारअसफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन्।
आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा माधव भट्टराई बताउछन् ।
सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरूको भनाइ छ। सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलतारअसफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा र वैदिक समय अङ्कनमा आधारित छ ।
वि सं अङ्ग्रेजी पात्रोभन्दा झण्डै ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ । सूर्यसँग सम्बन्धित भएकाले यसमा ग्रह नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् ।
सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख सङ्क्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखाली पूण्य कमाइने धार्मिक विश्वास पनि रहँदै आएको छ ।