काठमान्डौ -नेपाल बार एसोसिएशनले स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानून विपरीत भएको जनाउँदै समयमै निर्वाचन गर्न सरकारसँग आग्रह गरेको छ।
बार एसोसिएशनका महासचिव लीलामणि पौडेलले आइतबार प्रेस विज्ञप्ति जारी गरी स्थानीय तहको निर्वाचनका विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति बारको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन सार्न नहुने बारले जनाएको छ। बारले भनेको छ, “कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने/नगर्ने भन्ने विषय हुनै सक्दैन।”
समयमा चुनाव नभई स्थानीय तहलाई रिक्त बनाउन कुरा संविधान विपरीत हुने बारले जनाएको छ। “कुनै पनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुराले संविधान र कानून विपरीत मात्रै नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ,” बारले भनेको छ।
नेपालको संविधानले कुनै पनि तहको शून्यताको परिकल्पना नगरेको बारले उल्लेख गरेको छ। “नेपालको संविधानले स्थानीय तह, प्रदेश संसद् र संघीय संसद्को आवधिक निर्वाचनको व्यवस्था गरेको छ। त्यस्ता निकायको शून्यताको परिकल्पना संविधान र निर्वाचन सम्बन्धी कानूनले गरेको छैन,” विज्ञप्तिमा भनिएको छ।
त्यसैले, हाल स्थानीय तहको अवधि समाप्त हुन लागेको र समयमै निर्वाचन गर्नुपर्नेमा बारले जोड दिएको छ। बारले भनेको छ, “नेपालको संविधान र प्रचलित निर्वाचन सम्बन्धी कानून समेतका आधारमा सबै तहका निर्वाचन समयमा नै गरी लोकतन्त्रको रक्षा र संवर्द्धन गर्ने कार्यमा लाग्न नेपाल सरकार तथा सम्बन्धित सबैसँग हार्दिक अपील समेत गर्दछौं।”