डोटी – जोरायल गाउँपालिकाका जनप्रतिनिधिले घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालेका छन् । गाउँपालिकाले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित र बालपोषण भत्ता घरमै गएर सामाजिक सुरक्षाभत्ता वितरण गरिरहेको छ ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेका कारण ज्येष्ठ नागरिकलाई समस्या भएको भन्ने खबर आएपछि गाउँपालिकाले घरैमा गएर सामाजिक सुरक्षाभत्ता वितरण शुरु गरेको हो ।
वडामा जनप्रतिनिधि र कर्मचारी परिचालन गरी ज्येष्ठ नागरिक भत्ता वितरण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, “हामीले भत्तासहित अन्य सामग्री वितरण गर्दै आएका छौँ, जसले गर्दा सबै नागरिकलाई सहज भएको छ ।”
जोरायल गाउँपालिकामा एक हजारभन्दा बढी नागरिकलाई घरमै पुगेर भत्ता वितरण गर्ने योजनाअनुसार उक्त अभियान शुरु भएको हो । ज्येष्ठ नागरिकलाई भत्तासँगै सामाजिक दूरी कायम गरेर स्यानिटाइजर, मास्क, पञ्जालगायतका सामग्री वितरण गरिन थालिएको जोरायल गाउँपालिका–५ का वडाध्यक्ष ध्वजबहादुर देउवाले बताए ।
जनप्रतिनिधि तथा कर्मचारी आएर घरमै भत्ता दिँदा आफूहरुलाई निकै राहत मिलेको घरैमा ज्येष्ठ नागरिक भत्ता पाएकी जोरायल गाउँपालिका–५ की ६७ वर्षीया सञ्जा रावलले बताए । उनले भने, “बन्दले भत्ता लिन जान नसक्दा समस्या भएको थियो, गाउँपालिकाले घरैमा पैसा दिएपछि निकै राहत मिलेको छ ।”
उक्त गाउँपालिकाले गाउँमा रहेका दीर्घरोगी र नियमित औषधि सेवन गरिरहेका नागरिकलाई पनि घरैमा पुगेर निःशुल्क औषधि उपलब्ध गराउन थालेको उपाध्यक्ष जमुना बोहोराले बताए । मुटु, दम, रक्तचाप, थाइराइड र युरिक एसिडका बिरामीलाई सोहीअनुसारका औषधि तथा सुत्केरी र गर्भवती महिलालाई आइरन चक्की वितरण गरिन थालिएको छ ।
गाउँपालिकाको निर्देशनमा वडाभरिमा रहेका स्वास्थ्यकर्मीलाई गाउँ–गाउँमा खटाएर गाउँपालिकाले ज्येष्ठ नागरिक र गर्भवती महिलाको अवस्था, बच्चाको अवस्था, श्वास–प्रश्वास, मुटुको गतिलगायत अन्य स्वास्थ्यको अवस्था, शरीरको अवस्थालगायत गर्भवती र बच्चाको शारीरिक अवस्थाका विषयमा पूर्वजानकारी लिन गाउँपालिकाले एक थान पोर्टेबल भिडियो एक्स–रे मेसिनसहित अन्य उपकरण र औषधिको व्यवस्था गरेको छ स्वास्थ्यकर्मीको टोलीले अहिले गाउँगाउँमा गएर स्वास्थ्य जाँच गर्न थालेको जोरायल गाउँपालिकास्थित सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रका अनमी तुलसीकुमारी बोहराले बताए । रासस