भीमदत्तनगर – कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा बोइलर कुखुरा पालक किसानले लकडाउनमा दिनमा कराडौँको नोक्सानी व्यहोरेका छन् ।
त्यहाँ दैनिक रुपमा कुखुरा पालक किसान, अण्डा उत्पादन र ह्याचरी सञ्चालक तथा दुग्ध उत्पादन किसानले कराडौँको नोक्सानी व्यहोर्नु परेको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले एक साता समय लगाएर लकडाउनमा सुदूरपश्चिममा कृषि क्षेत्रमा भएको नोक्सानी पर्यवेक्षण गरेर सङ्घीय कृषि मन्त्रालयमा समेत प्रतिवेदन पठाइसकेको छ । वरिष्ठ पशु विकास अधिकृत अवस्थीले लकडाउन लम्बिएसँगै कुखुरा पालक किसानको नोक्सानीको दायरा समेत बढ्दै जाने बताए ।
त्यसैगरी, सुदूरपश्चिममा अण्डा उत्पादनका लागि किसानले २० लाख लेयर्स जातको कुखुरा पालेका छन् । उत्पादन गरिएको अण्डा २ साताभित्र खराब भइसक्छ । सुदूरपश्चिम प्रदेशमा वार्षिक ३ हजार २ सय मेट्रिक टन मासु उत्पादन हुँदै आएको छ ।
सुदूरपश्चिमका नौवटै जिल्लामा कुखुरा पालक किसान रहे पनि दाना उत्पादन भने कैलाली कञ्चनपुुरमा मात्रै हुने गरेको छ । सुदूरपश्चिममा प्रतिहप्ता ८० हजार चल्ला उत्पादन हुने गरेको थियो ।
दुग्धतर्फ पनि सुदूरपश्चिमका किसानले दैनिक ८० लाख रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नु परेको कृषि मन्त्रालयले जनाएको छ । कञ्चनपुरको भीमदत्तनगरमा दाना र चल्ला बिक्री गर्दै आउनुभएका व्यापारी अर्जुन नेपालले किसानको अवस्था निकै नाजुक रहेको बताए ।
कञ्चनपुर कुखुरा तथा अण्डा उत्पादक किसान सङ्घका अध्यक्ष विक्रम नाथले कुखुरापालक किसान लकडाउनका कारण सबैभन्दा बढी मारमा रहेको बताए । रासस