धनगढी- कैलालीको धनगढीमा आजबाट प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । पहिलो दिन आज महिला र पुरुष दुवैको क्रिकेट प्रतियोगिता हुँदै छन् । त्यस्तै आजै पुरुष फुटबल प्रतियोगिता पनि भईरहेको छ ।
पहिलो खेल बिहान ९ बजे सुरु हुने छ । क्रिकेट तर्फ कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश बिच पहिलो खेल हुने छ । दोस्रो खेलमा २ बजे रहने छ । जसमा प्रदेश १ र प्रदेश ५ ले प्रतिस्पर्धा गर्ने छन् ।एउटै समयमा महिला खेल धनगढीको सङ्घीय प्रहरी इकाइको खेलमैदानमा हुने छ भने पुरुषको फाप्ला क्रिकेट मैदानमा हुने जनाइएको छ । फुटबल तर्फ आज पहिलो दिन ३ वटा खेलहरू रहेका छन् ।
पहिलो खेल बिहान ९ बजे प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ बिच हुने छ भने दोस्रो खेल १ बजे प्रदेश २ र गण्डकी प्रदेश बिच हुने छ । तेस्रो खेलमा ३ बजे सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्ने छन् । फुटबल धनगढी रङ्गशालामा हुने छ । प्रतियोगितामा फुटबल र क्रिकेटसँगै ब्याडम्यान्टिन र भलिबल पनि समावेश गरिएको छ । ती खेहरु भोलिबाट खेलाइने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।सुदूरपश्चिम सरकारले पहिलो पटक आयोजना गरेको प्रतियोगिता सञ्चालन गर्न २ करोड रकम विनियोजन गरेको छ ।
प्रथमलाई १५ लाख, दृतियलाई ८ लाख, तृत्यलाई ५ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रत्येक स्वर्ण पदक विजेतालाई १०—१० हजार पुरस्कारको व्यवस्था गरिएको आयोजक सामाजिक विकास मन्त्रालयले जनाएको छ ।