काठमाडौं - दोस्रो एकदिवसीय खेलमा नेपालले जिम्बावे ‘ए’ माथि सानदार जित हात पारेको छ। शनिबार भएको खेलमा नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले हराएको हो ।
जितसँगै तीन खेलको सिरिजमा १-१ को बराबरी भएको छ।त्रिवि क्रिकेट मैदानमा जिम्बावे ‘ए’ ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाउँदै ८९ रन बनायो ।
नेपालका लागि सुनिल धमलाले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै आसिफ शेखले ३४ रन बनाउँदा विनोद भण्डारीले ४ रनको योगदान गरे । बलिङतर्फ जिम्बावे‘ए’ का लागि बर्नान्डो मटुवाले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१.५ ओभरमा ८७ रनमै अलआउट भयो।
बलिङमा नेपालका करण केसी र सोमपाल कामीले ३-३ विकेट लिए। करणले ८ ओभरमा ३ मेडन राख्दा १७ रन दिए भने सोमपाले ७ ओभरमा १६ रन खर्चिए।कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे। उनले ८.५ ओभरमा २६ रन दिए भने १ मेडन राखे।
अब निर्णायक तथा अन्तिम एकदिवसीय आगामी सोमबार हुनेछ।