धनगढी -कैलालीको धनगढीमा जेठ ५ गतेबाट क्लबस्तरीय क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ आयोजना हुने भएको छ ।
लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि धनगढीको आयोजनामा जेठ ५ देखि १३ गतेसम्म प्रतियोगिता हुने आयोजकले धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी आयोजना गरी जानकारी दिएको हो ।प्रतियोगिता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सञ्चालन हुने लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि काअध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।
प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरू बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहने छ ।
टी–ट्वान्टी फर्मेटमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख उपविजेताले १ लाख नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।