काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बाब्वे ए टिमसँग यही वैशाखमा एक दिवसीय र टी-२० शृङ्खला खेल्दैछ ।
नेपालले पहिलो पटक अफ्रिकन राष्ट्र जिम्बाब्वेको ए टिमसँग शृङ्खला खेल्न लागेको हो र दुवै फर्म्याटको शृङ्खला कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ ।
नेपालले मुख्य प्रशिक्षक पुबुदु दासानायके क्यानडाबाट फर्किएपछि शृङ्खलाका लागि तयारी सुरु गर्ने नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिए ।गएको चैतमा कीर्तिपुरमै भएको टी- २० त्रिकोणात्मक शृङ्खलाको उपाधि जितेपछि पुबुदु आफ्नो देश क्यानडा गएका थिए ।
यसपटक नेपालले जिम्बाब्वे ए टिमसँग पनि दुई फर्म्याटको क्रिकेट खेल्दैछ । नेपाल र जिम्बाब्वे ए टिमबीच तीन एक दिवसीय र तीन टी- २० खेल हुनेछ ।
यहि वैशाख १७ गतेदेखि एकदिवसीय शृङ्खला सुरु हुनेछ । जसमा पहिलो खेल १७ गते, दोस्रो खेल १९ गते र तेस्रो एक दिवसीय खेल २१ गते हुनेछ ।