अत्तरिया - प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज विभागीय टिम एपीएफ र प्रदेश एक भिड्ने भएका छन । दुवै टिम बिहान साढे ११ बजे लमही क्रिकेट मैदानमा उपाधिका लागि भिड्ने भएका हुन् ।
सेमिफाइनलमा रुवीना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश एकले लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै फाइनलमा प्रबेश गरेको थियो । यस्तै अर्को सेमिफाइनलमा एपीएफले सुदुरपश्चिमलाई नौ विकेटले हराउँदै फाईनल प्रबेश गरेको हो । यसअघि गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई नै स्तब्ध पार्दै एपीएफ च्याम्पिएन भएको थियो ।
दुबै टोलीले यसअघिका सम्पूर्ण खेल जित्दै फाइनलसम्मको यात्रा तय गरेका हुन् । प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्ने छ भने उप विजेताले तीन लाखमा चित्त बुझाउनुपर्नेछ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा पुस ११ गतेदेखि शुरु भएको हो ।
प्रतियोगितामा १ विभागीय र ७ प्रदेश गरि ८ टोलीको सहभागीता रहेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।