अत्तरिया - सुदूरपश्चिम प्रदेशमा जारी प्रधानमन्त्री कप (पीएम) एक दिवसीय क्रिकेट छनौट प्रतियोगिताको उपाधि अछामले जितेको छ । आज भएको अन्तिम फाइनल खेलमा बैतडीलाई १५ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि अछामले जितेको हो ।
अछामले यस अघिको पीएम कप छनौटको फाइनलमा बैतडीसंग हारेको बदला लिएको छ । बैतडी यस अघिको पीएम कप छनौटको फाइनलमा अछामलाई नै पराजित गरेर उपाधि हात पारेको थियो । अछामले १६५ रनको लक्ष्य दिएकोमा बैतडी भने १४९ रनमा समेटिएको थियो ।
बैतडीका लागि प्रदीपचन्दले ३० तथा वीरेन्द्र नाथले २७ रनको योगदान गरेपनि टोलीलाई भने जिताउन सकेनन् । अछामका लागि सुरज तिरुवाले ३ विकेट हातपारे । कभर्डहल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अछामले ३८ ओभरमा १६४ रनमा अलआउट भयो ।
उसका लागि सुरज तिरुवाले सर्वाधिक ६१ रन जोडे । बैतडीका लागि खडक बोहरा र दीपेन्द्र ऐरीले समान ३÷३ विकेट लिएका थिए । अछामका लागि अलराउण्डर प्रदर्शन गरेको सुरज तिरुवा म्यानअफ द फाइनल भएका छन् । गतमंसिर २७ देखि शुरु भएको छनौट प्रतियोगितामा बाजुरा बाहेकका सुदूरपश्चिमका ८ वटा टोलीको सहभागिता रहेको थियो ।
फाइनल खेलपछि एक समापन समारोहको आयोजना गरि खेलाडीलाई पुरस्कार बितरण गरिएको थियो । उक्त समापन समारोहमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द प्रमुख अतिथी रहनुभएको थियो ।