काठमाडौं - काठमाडौंको बल्खुस्थित तरकारी बजारका चारजना प्याज व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । आज बिहान मात्रै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको टोलीले बल्खुलगायत विभिन्न तरकारी बजारको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १२० रुपैयाँमा बेचेको पाइएपछि व्यापारीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतबाट प्याज आयात बन्द भएपछि बजारमा प्याजको मूल्य ह्वात्तै बढेको छ । खुद्रा बजारमा प्याजको मूल्य ५० रुपैयाँसम्म बढेको हो ।
भारतले सोमबार प्याजको निर्यात रोकेको हो । एक महिनामै तीन गुणाले मूल्य बढेपछि भारतले प्याज निकासी बन्द गरेको हो ।दक्षिणी राज्यमा अधिक वर्षाका कारण बाली प्रभावित भएपछि भारतमा प्याजको भाउ बढेको थियो । त्यसपछि आन्तरिक माग धान्न भन्दै भारतले सोमबारबाट प्याक निकासी रोकेको हो ।