अत्तरिया – गोदावरी नगरपालिकाले पहिलो चरणको राहत वितरण कार्य सम्पन्न गरेको छ । विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसको जोखिमबाट बच्नका लागि गरिएको लकडाउनले दैनिक ज्यालादारी गरी खाने वर्ग मारमा परेकाले नगरपालिकाले पहिलो चरणमा ७ दिनका लागि राहत वितरण गरेको हो ।
नगरपालिकाका १२ ओटै वडाका ३ हजार ४ सय २८ घरधुरीका लागि राहत वितरण कार्य सम्पन्न भएको गोदावरी नगरपालिकाले जनाएको छ । जस अन्तरगत नगरपालिकाको वडा नम्बर १ मा ४०४ घरधुरी, वडा नम्बर २ मा ४८८ घरधुरी, वडा नम्बर ३ मा ४९० घरधुरी, वडा नम्बर ४ मा २८८ घरधुरी, वडा नम्बर ४ मा २०१ घरधुरी र वडा नम्बर ६ मा २७५ घरधुरीका लागि राहत वितरण गरिएको छ । त्यस्तै वडा नम्बर ७ मा २०५ घरधुरी, वडा नम्बर ८ मा २५३ घरधुरी, वडा नम्बर ९ मा ३५२ घरधुरी, वडा नम्बर १० मा २८१ घरधुरी, वडा नम्बर ११ मा १५७ घरधुरी र वडा नम्बर १२ मा १३३ घरधुरीका लागि नगरपालिका मार्फत राहत वितरण गरिएको गोदावरी नगरपालिकाका सूचना प्रविधि अधिकृत नारायण बढुले जानकारी दिए ।
सूचना प्रविधि अधिकृत बढुका अनुसार उक्त घरधुरीका लागि ४ सय ४१ क्वीन्टेल ७० किलोग्राम चामल र १ सय ४ क्वीन्टल ५९ किलोग्राम दाल वितरण गरिएको छ । त्यस्तै ३ हजार ६ सय २७ प्याकेट नुन, ३ हजार १ सय १० लिटर तेल र ३ हजार ४ सय ५४ पिस साबुन समेत वितरण गरिएको छ ।
नगरपालिकाले उक्त घरधुरीमा २ जना परिवार संख्या भएकालाई ७ किलोग्राम चामल, १ किलोग्राम दाल, आधा लिटर तेल, १ किलोग्राम नुन र १ साबुन वितरण गरेको थियो । त्यस्तै ४ जना सम्म परिवार संख्या भएकालाई १० किलोग्राम चामल, २ किलोग्राम दाल, १ लिटर तेल, १ किलोग्राम नुन र १ साबुन र ४ भन्दा बढी परिवार संख्या भएका परिवारलाई १५ किलोग्राम चामल, ३ किलोग्राम दाल, १ लिटर तेल, १ किलोग्राम नुन र १ साबुन वितरण गरेको छ ।
छुटेका घरधुरीलाई पुनः राहत वितरण गरिने
पहिलो चरणको राहत वितरणमा धेरैले राहत नपाएको गुनासो आएपछि नगरपालिकाले छुटेका परिवारलाई पनि राहत वितरण गर्ने जनाएको छ । गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदले पहिलो चरणमा कुनै कारणबस छुटेका परिवारलाई राहत वितरण गरिने बताए । उनले यसका लागि आफूले प्रत्येक वडा अध्यक्षहरुलाई निर्देशन दिईसकेको बताए ।
‘छुटेका परिवारको तथ्याङ्क संकलन गरी रहत वितरण गर्ने तयारी गर्दै छौ ।’ नगरप्रमुख साउँदले भने – ‘मैले प्रत्येक वडा अध्यक्षलाई यस्ता परिवारको तथ्याङ्क संकलन गर्न भनेको छु ।’
राहत वितरण अघि नगरपालिकाले प्रत्येक वडा–वडाबाट तथ्याङ्क संकलन गरेको थियो । जसका लागि नगरपालिकाले टोल सुधार समिति, आमा समुहलाई परिचालन गरेको थियो । यसरी संकलन गरीएको तथ्याङ्कमा धेरैले आफ्नो नाम छुटेको बन्दै विरोध जनाउदैं आएका छन ।