अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ११ ओलानीमा थप क्वारेन्टाइन निर्माण गर्ने गरी तयारी भैरहेको छ । विश्वब्यापी महामारीका रुपमा फैलिदै गएको कोरोना भाईरसको जोखिमवाट बच्न भारत तथा तेस्रो मुलुकवाट आएकाहरुलाई राख्नका लागि गोदावरी नगरपालिका वडा नं ११ आलानीमा रहेको सरस्वती मा।विमा १ सय २० बेडको र गोदावरी स्वाथ्य चौकीमा ४० बेडको गरी थप १ सय ६० बेडको क्वारेन्टाइन निर्माण गर्ने गरी तयारी भैरहेको हो ।
गोदावरी नगरपालिका वडा नं १० , ११ र १२ का स्थानियहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै तिन ओटै वडाका जनप्रतिनिधिहरुको समन्ब्यमा उक्त क्वारेन्टाइनहरु निर्माणका लागि तयारी भैरहेको गोदावरी नगरपालिका वडा नं ११ का वडा अध्यक्ष शिव बहादुर बि.कले बताए ।
उनले गरिबि कारण ओलानी क्षेत्रका धेरै जासो पुरुषहरु रोजगारीका लागि भारत तिर जाने गरेको र अहिले घर फर्किनेहरु बढ्न सक्ने भन्दै ओलानीका दुई स्थानमा क्वारेन्टाइन निर्माणका लागि तयारी भैरहेको जानकारी दिए ।
उनले यस अघि नगरपालिकाले दुईवटा स्थानमा क्वारेन्टाइन बनाएको भएपनि ओलानी क्षेत्रका स्थानियहरुलाई आफ्नै ठाउँमा सुरक्षित राख्नका लागि तिन वटै वडाका जनप्रतिनिधिहरुको सल्लाह अनुसार सो काम अगाडी बढाएको बताए ।
'यहाँको सरस्वाती मा।विमा र स्वास्थ्य चौकीलाई क्वारेन्टाइनका बनाउने भनेर तयारी गरिरहेका छौ' उनले भने - 'अहिले क्वारेन्टाइनका लागि सामान खरिद गर्ने , सरसफाई गर्ने र औषधि छर्किने कामहरु भैरहेको छ ।'
गोदावरी नगरपालिकाले यस अघि मालाखेती अस्पतालमा २० बेडको र सैनिक आवासिय महाबिधालयमा तेघरीमा १ सय २० बेडको क्वारेन्टाइन निर्माण गरिसकेको छ भने अत्तरियामा रहेको सुदूरपश्चिम सामुदायिक अस्पतालमा २० बेडको आइसोलेसन वार्ड तयारी अबस्थामा राखेको छ । तर ति मध्ये सबै जसो बेडहरु खाली नै रहेका छन् ।
गोदावरी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा अहिले सम्म भारत तथा तेस्रो मुलुकवाट आएका ३१ जना मात्रै बसेका छन् । गोदावरी नगरपालिकाका प्रबक्ता एबम् वडा नं १ का वडा अध्यक्ष शर्मानन्द भट्टले नगरपालिकाले स्थापना गरेका क्वारेन्टाइनमा ३१ जना बसेको र त्यसमा पनि ४ जना फर्किसकेको बताए ।
आईसोलेसनमा भने अहिले सम्म एक जना पनि रहेका छैनन् । उनले भारत तथा तेस्रो मुलुकवाट आउने स्थानियहरुलाई मध्यनगर गर्दै ओलानीका २ वटा स्थानमा थप क्वारेन्टाइन निर्माण गर्ने भनि बैकल्पिक रुपमा राखिएको बताए ।