अत्तरिया – कोरोना भाईरस संक्रमणको जोखिम रहेको भन्दै भारतबाट आएका नेपालीहरुलाई छुटै क्वारेन्टाईनमा राख्न सरकारले स्थानिय तहहरुलाई निर्देशन दिएको छ । तर गोदावरी नगरपालिकामा भने भारतबाट आएकाहरु नगरपालिकाको सम्पर्कमा नै आउन नचाहिरहेका कारणले स्थानिय तहलाई तथ्याङ्क संकलनमै समस्या भएको छ । भारतबाट धेरै संख्यामा नेपालीहरु आएका भएपनि उनीहरु सम्पर्कमा नआईदिदाँ कसरी कुन अवस्थामा बसेका छन भन्ने बारेमा जानकारी समेत लिन समस्या भईरहेको छ ।
गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदले मानिहरु क्वारेन्टाईनमा बस्न नमान्ने गरेको बताए । ‘मानीसहरु क्वारेन्टाईनमा बस्न डरले भाग्दा रहेछन ।’ नगरप्रमुख साउँदले भने ‘भारतबाट नगरपालिकामा आउने धेरै छन । उनीहरु सम्पर्क मै आउँदैनन् कहाँ कहाँ बाट छिर्छन थाहौ हुँदैन ।’
कैलालीको गोदावरी नगरपालिका ११ का वडा अध्यक्ष शिब बहादुर बिकले लकडाउनकै समयमा भारतबाट एकजना नेपाली आएको हल्ला सुनिएपनि गाउँभरी खोज्दा कहि नभेटीएको बताए ।
उनले अहिले पनि गाउँमा नयाँ मान्छे आउने आउने क्रम नरोकिएकाले डाटा लिने र सेल्फ क्वारेन्टाईनमा बसाउने काम भईरहेको बताए । ‘३३ जनाको डाटा लिईसकेका छै । अझै डाटा लिने क्रम जारी छ ।’ अध्यक्ष विकले भने ।
गोदवरी नगरपालिका ४ का वडा अध्यक्ष प्रेम बहादुर भण्डारीले भारतबाट आएकाहरु क्यारेन्टाईनमा राख्ने भनेपनि भागेर गाउँमा आएको बताए । ‘लकडाउनकै समयमा नेपाल आएकाहरु गाउँमा डुलिरहेका छन, के गर्ने निकै समस्या भएको छ ।’ उनले भने – गाउँलेहरुले जानकारी दिएपछि सात जना भारतबाट आएको तथ्याङ्क त संकलन गरेका छौ तर तिनीहरुलाई के गर्ने अन्योल छ ।’
वडा अध्यक्ष भण्डारीले ति सातौ जना मंगलबार गड्डाचौकी नाकाबाट नेपाल भित्रीएको बताए । उनले तिनीहरुलाई क्यारेन्टाईनमा राख्ने भन्ने कुरा भएपनि भागेर गाउँमा आएको बुझिएको बताए ।
‘आफ्नो वडाको क्षेत्रफल निकै ठुलो छ कुन ठाउँमा मानिसहरु कसरी आईरहेका छन थाहै भईरहेका छैन ।’ वडाअध्यक्ष भण्डारीले भने ‘गाउँबाट स्थानियले भारतबाट मानीस आएको भनेर फोन गर्छन के गर्ने अन्योल छ ।’ स्थानियले यसरी भारतबाट आएकाहरु निर्बाध रुपमा गाउँमा घुम्ने गरेका कारण झनै जोखिम बढेको बताउन थालेका छन ।
यता गोदावरी नगरपालिले अहिले सम्म ३ सय ८९ जना भारतबाट आएको तथ्याङ्क संकलन भएको जनाएको छ । उनीहरुलाई सेल्फ क्वारेन्टाईनमा बस्न भनिएको नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले बताएका छन । त्यस्तै नगरपालिकाले अहिले मालाखेती अस्पतालमा १३ जनालाई क्वारेन्टाईनमा राखेको छ ।
गोदावरी नगरपालिकाले अहिले पनि तथ्याङ्क संकलनको काम जारी रहेको जनाएको छ । पछिल्लो समय विश्वव्यापि रुपमा फैलिएको कोरोनाको संक्रमण ४ जना नेपालीमा पनि देखिईसकेको छ । शुक्रबार मात्रै धनगढीमा एक जनामा कोरोना संक्रमण भएको पुष्टि भईसकेको छ ।