अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको बसपार्कमा व्यवस्थित टिकट काउन्टर निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि प्रयोगमा आउन सकेका छैनन् । निर्माण सम्पन्न भएको २ महिना भन्दा पनि बढी समय बितिसक्दा पनि टिकट काउन्टर कसरी संञ्चालन गर्ने भन्ने बिषयमा निर्णय हुन नसक्दा अहिले प्रयोग बिहिन भएका छन ।
गोदावरी नगरपालिकाको ५६ लाखको लागत स्टमेटमा बसपार्कमा २ महिना अगाडी टिकट काउन्टर निर्माण गरिएको थियो । अत्तरिया बसपार्क काउन्टर निर्माण समितिका अध्यक्ष धर्म सिंह साउँदले बसपार्कका काउन्टर कार्तिक मसान्तमै निर्माण सम्पन्न भएको बताए । उनले सम्झौताको म्याद कार्तिक मसान्त भित्र थियो त्यहि समय भित्र निर्माण सकिएको बताए । निर्माण सम्पन्न भएर सोहि समयमा आफूले नगरपालिकालाई हस्तान्तरण गरेको बताए ।
गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदले भने बस व्यवसायीले कसरी संचालन गर्ने भन्ने सहमतिमा आउने बितिकै काउन्टर हस्तान्तरण गरिने बताए । उनले कुन–कुन समितिले कसरी काउन्टर प्रयोग गर्ने भन्ने सममति हुन नसकेकाले ढिलाई भएको बताए ।
नगरपालिकाले अहिले १२ ओटा टिकट काउन्टर निर्माण गरेको भएपनि अत्तरिया बसपार्कमा अहिले बिभिन्न समितिका २ दर्जन भन्दा बढी टिकट काउन्टर रहेका छन । नगरपालिकाको सबै खोका छाप्रामा रहेका टिकट काउन्टर हटाएर एकै ठाउमा टिकट काट्ने योजना बनाएको भएपनि धेरै व्यवसायी संस्था हुँदा कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा निर्णय हुन सकेको छैन ।
सुन्दर सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदम राज सापकोटाले कैलालीका ५ ओटा सस्थाले संचालन गर्न पाउनु पर्ने बताए । उनले सुन्दर सुदूरपश्चिम यातायात प्राली, कर्णाली यातायात प्राली, कैलाली यातायात प्राली, खप्तड यातायात र मालिका यातायातले संञ्चालन गर्न पाउनुपर्र्ने प्रस्ताव नगरपालिका समक्ष गरेको बताए ।
अहिले बसपार्कमा हाटबजार जस्तो धेरै काउन्टर हुँदा अस्तव्यस्त भएको छ । अहिले एउटै समितिका पनि धेरै काउन्टर रहेकाले अस्तव्यस्त भएको हो ।’ अध्यक्ष सापकोटाले भने – ‘अब यी बसै काउन्टरलाई एकिकृत गरेर मात्र व्यवस्थीत गर्न सकिन्छ ।’ उनले सबै बस व्यवसायीलाई छुट्टाछुटै काउन्टर दिन नसकिने भएकाले एकिकृत गरेर संञ्चालन गरिनुपर्ने र त्यसका लागि कैलालीका ५ ओटा बस व्यवसायी सस्थाले संञ्चालनको जिम्मा दिदा सहज हुने बताए । यातायात व्यवसायिले कसरी संचालन गर्ने भनेर नगरपालिकाले नै मापदण्ड बनाउनु पर्ने बताउँदै आएका छन ।
अव्यवस्थित रुपमा राखिएका टिकट काउन्टरले बसपार्क नै कुरुप देखिएको छ । अहिले व्यवसायिहरुले संचालन गरेका टिकट काउन्टर सामान्य खोकाछाप्रामा संचालनमा रहेकाले यात्रुहरुलाई चर्को घाम लागेको बेला र पानी परेको बेला टिकट काट्न समस्या हुँदै आएको छ ।
व्यवस्थित टिकट काउन्टर संचालनमा आएपछि टिकट काट्न यात्रुहरुलाई सहज हुने अपेक्षा गरिएको भएपनि व्ययस्थित टिकट काउन्टर निर्माण भएर पनि प्रयोगमा आउन सकेका छैनन् । ६ बर्ष अगाडी क्षेत्रीय बसपार्कको अबधारण सहित अगाडी बढेको अत्तरिया बषपार्क १ बर्ष अगाडी गोदावरी नगरपालिका मातहत ल्याईएको छ ।
सम्बन्धित खबर अत्तरिया बषपार्कमा व्यवस्थित टिकट काउन्टर निर्माण हुँदै