अत्तरिया – पुर्व पश्चिम राजमार्ग बिस्तारका क्रममा सडक किनारामा परेका २ ओटा विद्युत पोल नहटाई कालोपत्रे गर्न थालिएको छ । राजमार्ग अन्तरगत अत्तरियाको बजार क्षेत्रको सडकलाई चौडा पार्नका लागि मुल सडकको दुवै तर्फ साढे तिन मिटर चौडाई बिस्तार गर्न लागिएको भएपनि सो क्षेत्रमा परेका विद्युत पोल भने हटाईएका छैनन् ।
कालोपत्रे सडकको बिचमै विद्युतिय पोल हुँदा दुर्घटनाको जोखिम बढेको स्थानियले बताएका छन । स्थानिय जगन्नाथ भट्टले सडकमै पोल राखेकाले दुर्घटनाको जोखिम झन बढेको बताए । ‘पोल अझै बिच सडकमा आउने हो भन्नेर होला सडकको चौडाई पनि कम गराएका छन । अहिले कालोपत्रे माथि कालोपत्रे गरिरहेका छन । ‘साढे तिन मिटिर चौडा भने पनि ३ फुट मात्रै चौडा पारीएको छ पोल नहटाउँदा यस्तो भएको हो । चौडाई कम गर्दा पनि विद्युत पोल सडकमै परेको छ ।’ उनले यस क्षेत्रमा पहिले देखि साघुरो सडक हुँदा दुर्घटना भईरहने गरेकाले अब सडक चौडा गरेर पनि पोल नहटाईदा झन खतरा बढेको बताए ।
‘यो ठाउँमै आफूले ३/४ ओटा दुर्घटना भएको देखेको छु । राजमार्गको क्षेत्र भएकाले गाडीको स्पिड बढी नै हुन्छ । स्थानिय प्रकाश बिष्टले भने –‘हेर्नुहोला अब गाडीहरुको ब्रेक लाग्दैन, झन दुर्घटना बढ्छ ।’ उनले भने ‘आफूहरले अनुरोध गरेर पनि कसैले सुनेनन्, यस क्षेत्रको स्थानिय सरकारले पनि पहल गर्नु पर्ने हो । वास्ता गरेको छैन ।’
२ ओटा विद्युत पोल सडकमै परेका छन भने सडक कालोपत्रे बाहिर परेका पोल पनि सडक किनारामै जोडिएका छन । स्थानियले सडकको बिचमा परेका पोल संगै सडक किनारामै रहेका पोल पनि सडक भन्दा केहि भित्र सम्म सार्न माग गरेका छन ।
२ लेनको राजमार्गलाई बजार क्षेत्रमा सवारी साधनको बढी चाप हुने भएकाले सडक डिभिजन कार्यालय महेन्द्रनगरले अत्तरियाको ट्राफिक पोष्ट देखि सशस्त्र प्रहरी बाहीनी सम्म सडक चौडा गर्दैछ । दुवैपट्टि ३ दशमलव ५ मिटर सडक चौडा पारीदै छ ।
सडक बिस्तारको ठेक्का पाएको वर्ड वाईड उच्चकोटी जेभीका सब ईन्जिनियर मनोज भट्टले आफूहरुले पटक–पटक पोल हटाउनको लागि अनुरोध गरेको भए पनि सुनुवाई नभएका कारण पोल नसारी कालोपत्रे गरेको बताए । उनले ठेक्का अवधि १ महिना पछि सकिन लागेकाले कालोपत्रे सक्नुपर्ने बाद्यता रहेको बताए ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुचना अधिकारी लक्ष्मण दत्त जोशीले आफूहरुले यसकोे बारेमा पहल गरिरहेको बताए । उनले भने ‘आफूले पुन ः विुद्युत कार्यालयलाई अनुरोध गरेर बरु बजेटको समस्या भए यतै बाट मिलाउने व्यवस्था गरेर भए पनि पोल हटाउन लगाउने छौ ।’
नेपाल विद्युत प्राविधिक धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले सडक कार्यालयबाट बिद्युत पोल हटाउनको लागि पत्राचार र बजेट आएमा आफूहरुले तुरुन्तै पोल हटाईदिने बताए । ‘पोल हटाउनको लागि आधिकारीक जानकारी आए हामीले तुरुन्तै स्टमेट बनाईदिन्छ । त्यसपछि सडक कार्यालयले बजेट हालिदिनु पर्छ, हामी बजेट आएमा पोल हटाईदिन्छौ ।’ प्रमुख चौधरीले भने ।