अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ बस्ने अञ्जु तामाङ अब खेतीपाती लगाउने पक्षमा छैनन् । बर्षभरि खानका लागि रातदिन मेहेनत गरेर लगाइने खेतीपाती भित्त्रयाउने बेला लगानीको आधा भन्दा पनि कम आउन थालेपछि अहिले उनी खेतीपाती नलगाउने पक्षमा रहेकी छन् ।
‘खेती लगाएर के गर्ने , लगाएको खेती छाडा गाईगोरुलाई पुग्दैन’ उनले भनिन् –‘अब यसरी खेती गर्नुभन्दा बरु ब्यापार ब्यबसाय गर्ने अनि किनेर खान ठिक छ , कम्तिमा आफ्नो मेहेनत र लगानी त खेर जादैन ।’ अञ्जु एक जना मात्र होइन अहिले गोदावरी नगरपालिका भित्र बसोबास गर्दै आइरहेका धेरै जसो नगरबासीहरु छाडा चौपायवाट यति दिक्क भैसके कि अब छाडा चौपयको समस्या समाधान हुने आशा नै मारिसके । तामाङले बिगत तिन चार बर्षदेखी आफु लगाएत पुरै गाउले छाडा पशु चौपयवाट निकै आजित बनेको बताइन् ।
उनले आज भन्दा ३÷४ बर्षदेखी नै यो समस्या बिकराल रुपमा रहेपनि अहिले सम्म समाधान गर्न नसक्नु आफैमा निकै दुखद कुरा भएको बताइन् । सरकारले गदैन भने बरु हामी आफै गर्छौ , सबै गाँउलेहरु पैसा उठाउछौ उनले भनिन् भोट माग्दा सबैभन्दा पहिला हामी यो छाडा गाइगोरुको समाधान गछौ भन्ने नेताहरु अहिले काहाँ गए । स्थानीय तहमा ५ बर्षका लागि निर्वाचित जनप्रतिनिधिहरुको आधा कार्यकाल सकि सकेको छ ।
वडा वडामा नगर नगरमा जनप्रतिनिधि आएको ढाइ बर्ष पुगेपनि तराईका जिल्लामा निकै चुनौतीका रुपमा रहेको छाडा पशु चौपायको अझै पनि ब्यबस्थापन हुन सकेको छैन । छाडाचौपायवाट आजित भएका स्थानियहरु माँझ निर्वाचनका बेला अहिले निर्वाचित जनप्रतिनिधिहरुले छाडापशु चौपाय ब्यबस्थापन नै आफ्नो पहिलो मुद्धा बनाएको भएपनि अहिले भने कानमा तेल हालेर बसेको स्थानियले आरोप लगाएका छन् ।
चुनाब जितेको एक डेढ बर्ष सम्म जनप्रतिनिधिहरुले छाडा पशु चौपाया समस्या समाधानका लागि केहि सकृयता देखाएपनि पनि अहिले भने यस बिषयमा बोल्नै छोडिसकेको छन् । १३ वटा स्थानीय तह रहेको कैलालीमा चुरे गाउँपालिका र मोहन्याल गाउँपालिका वाहेक ११ वटा स्थानीय तहमा छाडा चौपाया ब्यबस्थापन निकै चुनौतीका रुपमा रहेको छ ।
छाडा चौपायको ब्यबस्थापनका लागि गोदावरी नगरपालिकाले पहल नगरेको होइन तर यसको दिर्घकालिन योजना बनाउन नसक्दा समस्या ज्यु का त्यु रहेको हो । छाडा पशु् चौपायाका कारणले गोदावरी नगरपालिका विभिन्न स्थानमा स्थानियहरुले लगाईएको बालीनाली जोगाउन स्थानियबासी रातदिन खेतमै बास बस्ने गरेका छन् ।
छाडा पशु् चौपायाका कारण वाली नाली संगै बजारमा दुर्घटनाको जोखिम पनि निकै रहेको छ । सडकमा गाडी चलाउदा पनि अहिले निकै साबधानी अपनाउनुपर्ने अबस्था छ । हाइवे तथा बजारका बिच सडकमा ठुलो समुह बनाएर बस्ने र हिडने गरेका कारण दुर्घटना निम्तिने गरेको सवारी चालहकहरु बताउदछन् ।
पछिल्लो समय दुध दिदा सम्म घरमा पालेर राख्ने र दुध दिन छोडेपछि बजारमा ल्याएर छोड्ने परम्पराले गाँउघर बजार क्षेत्रमा अहिले जताततै छाडा पशु चौपायले भरिभराउ हुने गरेका छन् । अत्तरियाको बषपार्कका सवारी साधन व्यवस्थापनमा छाडा पशुचौपाया मुख्य चुनौती बनेका छन ।
बसपार्क भित्र र बसपार्कको प्रबेशद्धारमा रहेका छाडा पशुचौपायाले सवारी साधन ओहोरदोहोर गर्न निकै समस्या हुने गरेको छ । सवारी पार्किङ गर्ने क्षेत्रमा पनि छाडा पशुचौपाया हुँदा सवारी साधन पार्किङ गर्न समस्या हुने गरेको छ । बसपार्क भित्र र बसपार्क प्रबेशद्धार क्षेत्रमा भएका छाडा पशुचौपायाका कारण दुर्घटनाको जोखिम समेत बढेको छ भने सवारी साधन आवत जावतमा पनि समस्या हुने गरेको छ ।
उता गोदावरी नगरपालिकाका प्रबक्ता शर्मानन्द भट्टले छाडा पशु चौपयको समस्या गोदावरी नगरपालिकाको मात्रै नभएर अहिले तराईका दुवै जिल्ला कैलाली र कञ्चनपुरका समस्या रहेको बताए ।
उनले आफुहरु निर्वाचित भएदेखी समस्या समाधानका लागि नगरपालिकाले निरन्तर पहल गरेको बताए । उनले छाडा चौपायको ब्यबस्थापनका लागि वडा नं १ र २ मा गौशाला बनाएर गाईगोरुको हेरचाह गर्ने कर्मचारी (ग्वालाहरु) राखिएपनि अझै नयाँ नयाँ थपिने छाडाचौपयले गर्दा समस्या बढ्दै गएको बताए ।
'के गर्ने यसले छाडा पशुचौपायले सबैलाई दुख दिएका छन् हामीले पहल नगरेका होइनौ उनले भने -' बिचमा केहि समय कम पनि भए तर अहिले फेरि नयाँ नयाँ गाइगोरुहरु काहाँवाट थपिएछन् पत्ता लगाउन सकिएको छैन् ।' उनले छाडा पशु चौपायको हेरचाह गर्ने कर्मचारी लाई गाँउघर बजारमा रहेका छाडा पशुचौपायको हेरचाहमा बिषेश ध्यान दिन निर्देशन दिने बताए ।