अत्तरिया - यति बेला जताततै पिकनिकको मौसम छ । नेपालीहरुको महान चार्ड दशै तिहार तथा अन्य महत्वपुर्ण चार्ड पर्वहरु सकिए संगै एक आपसमा रमाइलो गर्दै दैनिक जसो पिकनिक खाना जानेहरुले कैलाली कञ्चनपुरका बिभिन्न पर्यटकिय क्षेत्रहरु भरिभराउ हुने गरेका छन् ।
सुदुरपश्चिम प्रदेशको महत्वपुर्ण धार्मिक एबम् पर्यटकिय क्षेत्र कैलालीको गोदावरीमा पनि सयौको संख्या पिकनिक खानेहरु पुग्ने गरेका छन् । कैलाली र कञ्चनपुर सहित अन्य बिभिन्न जिल्लामा रहेका बिधालयका बिधार्थीहरु , संघसंस्थाका प्रतिनिधिहरु र परिवारका सदस्यहरु आ आफ्नो समुह बनाएर पिकनिक खान आउनेहरुले गोदावरी क्षेत्र भरिभराउ हुने गरेको छ । तर गोदावरीमा एक निश्चित पिकनिक स्पोट नहुदा गोदावरी धार्मिक क्षेत्र जताततै दुर्घन्धित बनेको छ ।
२०७२ साल माघमा पहिलो पटक गोदावरी धाममा एक महिने लामो ‘अमृत महास्नान दिव्य सहस्त्र कुम्भ दर्शन मेला’ लागे पछि गोदावरी धाम देशभर परिचित भएको थियो । प्राकृतिक सौदर्यताले भरिपुर्ण यहि धार्मिक तथा पर्यटकिय क्षेत्र अहिले पिकनिक खान आउनेहरुले निश्चित ठाँउ नपाउदा दुर्घन्धित बनेको हो । गोदावरी नगरपालिका वडा नं २ बस्ने हरि भट्टराईले गोदावरीमा पिकनिक खान र रमाउनका लागि टाढा टाढावाट आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको भएपनि अहिले सो क्षेत्र निकै दुर्घन्धित बनेको बताए ।
उनले आफ्नो सामाजिक संजाल फेसबुकमा गोदावरी क्षेत्र दुर्घन्धित बनेको फोटाहरु राख्दै सम्बन्धित निकायको बेवास्ताका कारण धार्मिक क्षेत्रमा दुर्गन्ध फैलिएको बताए । उनले गोदावरी मन्दिर नजिकै गोदावरी पुल भन्दा माथि टाढा टाढावाट पिकनिक खान आएका समुहले गंगा तट नजिकै जताभावी फाहोर गर्नाले गंगाको पानी पुरै दुर्गन्धित बनेको बताए । 'गोदावरी क्षेत्रलाई सबैले रुचाएर पिकनिक खान आउने गर्दछन् तर त्यँहा एक निश्चित पिकनिक स्पोट छैन सबै गोदावरी पुल भन्दा माथि पिकनिक खान जान्छन्' उनले भने - 'पिकनिक खान आएकाहरुले खसी बोकाहरु गंगाको क्षेउमा काट्ने गर्दछन् त्यसको रगत , कपाल लगाएतका बस्तुहरु गंगामा मिसिन्छ अनि तल गोदावरी स्नान गर्न आएकाहरुले त्यहि पानीले नुहाउने र घरमा लगेर जाने गर्दछन् ।'
उनले अन्य धार्मिक क्षेत्र आसपास लसुन प्याज समेत बन्द गरेको बेला गोदावरीमा भने यस्तो अबस्था रहेकाले यस तर्फ जनप्रतिनिधि सहित गोदावरी धाम विकास समितीले ध्यान दिनुपर्ने सुझाव दिएका छन् । आन्तरिक पर्यटयहरुको पहिलो रोजाई बनेको गोदावरी क्षेत्रमा एक निश्चित पिकनिक स्पोट नहुदा पिकनिक खान जानेहरु पनि समस्यामा पर्ने गरेका छन् । बाटोघाटो निर्माण , पानीको ब्यबस्था गरेर पिकनिक स्पोटका लागि केहि संरचनाहरु निर्माण गरि धेरैले रोजगारीको अबसर पाउने र मनग्य आम्दानी गर्न सकिने कञ्चनपुरवाट पिकनिक खान गोदावरी पुगेका एक जना किसन बिष्टले बताए ।
गोदावरी धामका अध्यक्ष पदमराज जोशीले स्थानिय सरकारका जनप्रनिनिधिको वेवास्थाका कारण आफुहरु पनि समस्यामा परेको बताए । उनले गोदावरी धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचार प्रसार हुनु , पिकनिक खाना आउनेको भिड बढ्नु राम्रो पक्ष भएपनि त्यहाँ एक निश्चित पिकनिक खाने ठाँउ नहुदा आफुहरुलाई धार्मिक कृयकलाप गर्न पनि चुनौति थपिएको बताए । हामीसंग त के छ , न बजेट छ न स्रोत छ ,हामीले त धार्मिक क्षेत्रको उजागर गर्दै त्यसको संरक्षण र सम्बद्धन गर्ने हो उनले भने यो काम त स्थानिय सरकारका जनप्रनिनिधिहरुले गर्नुपर्ने हो , अहिले वडा कार्यालय छ नगरपालिका छ तर यस तर्फ कसैको ध्यान जान सकेको छैन ।
उनले माथिवाट बगेर आउने दुर्गन्धले तलतिर धार्मिक कार्यहरु गराउन पनि समस्या भैरहेको बताए । यो समस्या जटिल र सम्बेदनशिल भएकाले यस तर्फ जतिसक्दो चाडो वडा कार्यालय र नगरपालिकाका जनप्रतिनिधिहरुले ध्यान दिनुपर्ने उनको भनाई छ । उता गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँदले यस बिषयमा नगरपालिकाले दिर्घकालिन योजना बनाइरहेको गोदावरी न्युजलाई जानकारी दिए ।
उनले अहिले पिकनिक खाने बनाएको ठाँउ कुनै पनि हिसाबले ठिक नभएकाले अब चाडै धार्मिक क्षेत्रभन्दा टाढा नयाँ ठाउ खोजेर पिकनिक स्पोट बनाइने बताए । अहिले सर्बजनिक बिदाका दिन गोदावरीमा सयौको संख्यामा पिकनिक खानेहरु पुग्ने गरेका छन् । पिकनिक खानका लागि टाढा टाढावाट आउने सर्वसाधारणहरु पिकनिक स्पोट नभएपछि गोदावरी नदीको छेउमै खाना पकाउदै खान बाध्य छन् ।
त्यसैले पिकनिक खान र रमाइलो गर्नका लागि टाढा टाढावाट गोदावरी सम्म आउने आन्तरिक पर्यटकहरुका लागि बिभिन्न संरचना सहितको एक निश्चित पिकनिक स्पोट बनाउन तर्फ गोदावरी नगरपालिकाले बिषेश ध्यान दिन जरुरी देखिन्छ ।