अत्तरिया - शारिरिक रुपमा अपाङ्गता भएका ब्यक्तिहरुले गोदावरी नगरपालिकाको अब निर्माण हुने भवन अपाङगमैत्री बनाउन माग गरेका छन् । गोदावरी नगरपालिका भित्र बसोबास गर्दै आइरहेका शारिरिक रुपमा अपाङ्गता भएका ब्यक्तिहरुले नगरपालिकाको भवन अपाङगमैत्री भएमा काम गर्न सहज र सरल हुने भएकाले अब बन्ने भवन अपाङ्गमैत्री बनाउन माग गरेका हुन् ।
सरकारी कामका लागि आफुहरु नगरपालिकामा जादाँ यस अघि निकै सास्ती खेप्नुपरेकाले अब बन्ने भवन सबैका लागि उपयोगी हुने खालको बनाउनुपर्ने माग गरिएको छ । गोदावरी नगरपालिकाको भवनका लागि ठेक्का सम्झौता भयो भन्ने समाचार सुनेपछि गोदावरी नगरपालिका वडा नं २ बस्ने लक्ष्मण बि.कले यो खुसीको कुरा भएकाले अब बन्ने नयाँ भवन सुबिधा सम्पन्न र अपाङ्गमैत्री बनाउन नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।
सु.प समावेशी बिधालय अत्तरियाका पुर्व प्राचार्य समेत रहेका बि.कले गोदावरी न्युजसंग कुराकानी गर्दै हाल ३ तले भाडाको घरमा संचालनमा रहेको नगरपालिकाको कार्यालयमा जादाँ आफु लगायत आफ्ना साथीहरुले भोग्नुपरेको पिडालाई सम्झिदै नयाँ भवनमा यस्तो पिडा नदोहरिन अपाङ्गमैत्री भवन बनाउन आवश्यक रहेको बताए । 'कार्यालय दुई तिन तलाका हुन्छन् त्यहाँका प्रमुखको कार्यकक्ष सबैभन्दा माथिल्लो तलामा हुन्छ ,अनि म जस्ता ह्वली चियर प्रयोगकर्ताहरुले त्यहाँ सम्म कसरी पुग्ने , कसरी आफ्ना समस्यहरु राख्ने' उनले भने ।
यस्तै अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकारको क्षेत्रमा काम गर्दै आएका सुप समावेशी बिधालयका संस्थापक मान बाहादुर साउँदले अब बन्ने हरेक सरकारी संरचनाहरु अपाङ्गमैत्री हुनुपर्ने बताए । उनले अहिले सम्म भएका सरकारी संरचनाहरु अपाङ्गमैत्री नहुदा अपाङ्गता भएका ब्यक्तिहरुले निकै दुख कष्ट भोगिरहेको र आफ्ना समस्याहरु सहज रुपमा राख्न नपाइरहेको गुनासो गरे ।
'चाहे नगरपालिकाको होस् चाहे वडा कार्यालय वा अन्य कुनै पनि सरकारी कार्यालयको भौतिक संरचनाहरु अपाङ्गमैत्री हुन आवश्यक रहेको छ' उनले भने - 'यसले गर्दा अपाङ्गता भएका ब्यक्तिहरुले पनि आफ्नो काम सहज र सरल तरिकाले गर्न पाउँछन् ।' अहिले भाडाको घरमा कार्यालय रहेको गोदावरी नगरपालिकाको भवनको अपाङ्गमैत्री संरचनाहरु नहुदा भएमा आफुहरुलाई सहज रुपमा आवतजावत गर्ने बाताबरण नभएको उनले बताए ।
साउँदले नगरपालिकाको अबको नयाँ भवन मापदण्ड अनुसारको अपाङ्गमैत्री बनाएर ह्वली चियर प्रयोगकर्ताहरुलाई पनि नगरप्रमुख , उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको कोठमा पुगेर आफ्ना कुराहरु राख्ने र काम गर्ने वाताबरण बनाउन नगरपालिकासंग आग्रह गरे ।
उता शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका ईन्जिनियर बृज लाल चौधरीले गोदावरी नगरपालिकाको नवनिर्मित भवन अपाङ्गमैत्री नै बन्ने बताएका छन् । उनले नगरपालिका सम्म पुग्ने ह्वली चियर प्रयोगकर्ताहरुलाई पनि सहज रुपमा आवतजावत गर्नका लागि नयाँ भवनको संरचना अपाङ्गमैत्री नै बन्ने बताएका हुन् ।
केहि दिन पहिले मात्रै गोदावरी नगरपालिकाको नयाँ भवन निर्माणका लागि ठेक्का सम्झौता भएको छ । स्थापना भएको पाँच बर्ष पछि सोमबार नगरपालिकाको आफ्नो भवन निर्माणको ठेक्का सम्झौता भएको हो । क्षेत्रीय सहरी विकास आयोजना अन्तरगत गोदावरी नगरपालिकाको वडा नं २ तेघरीमा यस अघि खरिद गरिएको जग्गामा नगरपालिकाको नयाँ भवन बन्ने भएको छ ।