अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाले बर्षौदेखी खुटिया खोलाका छेउमा गिट्टी कुटेर जिवन निर्वाह गर्दै आएका महिलाहरुलाई सहयोग गरेको छ । गोदावरी नगरपालिकाको महिला शाखाले खोलाको छेउमा गिट्टी कुटेर आफ्नो जिवन निर्वाह गर्दै आएका स्थानिय महिलाहरुलाई सुरक्षा सामाग्रीहरु सहयोग गरेको हो । गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायत , वडा नं २ का अध्यक्ष कृष्णराज जोशी र महिला शाखा प्रमुख प्रेमा बडु सहित उनीहरुको काम गर्ने स्थलमै गएको एक टोलीले सुरक्षाका सामग्रीहरु सहयोग गरेका हुन् ।
आज एक कार्यक्रमका बिच उप प्रमुख रत्ना कडायत र २ नं का वडाअध्यक्ष कृष्णराज जोशीले गिट्टी कुट्दा आवश्यक पर्ने सुरक्षाका सामग्रीहरु संयुक्त रुपमा हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतले केहि महिना पहिले गोदावरी एफ एम संगै बिभिन्न संचार माध्याममा बर्षौदेखी खुटिया खोलाका छेउमा गिट्टी कुटेर जिवन निर्वाह गर्दै महिलाहरुको पिडाले सुनेपछि आफु निकै गम्भिर बनेको बताइन् । उनले यस्तो खबर सुन्दा सानो भएपनि आफ्नौ दैनिक गुजरा गर्दै आएका महिलाहरुका लागि पनि केहि गर्नुपर्छ भनेर त्यसका लागि बजेट छुट्याएर सानो भएपनि सहयोग गर्न पाउदा खुसी लागेको बताइन् । उनले यस बिषयमा नगरपालिका सकारात्मक रहेकाले आगमी दिनहरुमा निरन्तर सहयोग गर्दै जाने बताइन् ।
अहिले सरकारले सुखी नेपाली , सम्बृद्ध नेपाल नारालाई लिएर अघि बढिरहेको छ उनले भनिन् जब सम्म सबै नेपालीहरु आधारभुत आवश्यकताहरु पुरा गर्न सकिन्न तब सम्म यो नारा ,खाली नारामा मात्रै सिमित हुने हो । त्यसका लागि हामी पनि सम्पुर्ण नगरबासीका आधारभुत आवश्यकताहरु कसरी परिपुर्ति गर्न सकिन्छ , कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने बिषयमा अघि बढिरहेका छौ । उनले अहिले केहि महिलाले मात्रै यो सामग्रीहरु पायो भनेर अरुले दुख मान्न नहुने बताइन् । सबैलाई एकै पटक भन्दा पनि बेलाबखतमा यस्ता बिभिन्न सहयोगका सामग्रीहरु निरन्तर रुपमा नगरपालिकाले सहयोग गर्दै जाने बताइन् । कार्यक्रममा गोदावरी २ का वडा अध्यक्ष कृष्णराज जोशीले आफुले श्रमिकको क्षेत्रमा लामो समयसम्म काम गरेकाले श्रमिकहरुको पिडालाई नजिकवाट बुझेको बताए ।
उनले दैनिक मजदुरी गरेर जिवन निर्वाह गदै आएका मजदुरहरुलाई अब नगरपालिकावाट स्थानिय मजदुर परिचय पत्र उपलब्ध गराइने बताए । यसका लागि प्रकृया पनि सुरु भैसकेको बताए । यसरी मजदुर परिचय पत्र पाएकाहरुलाई ६० बर्षपछि पेन्सनको सुबिधा दिने निर्णय सरकाले अघि सारेको भन्दै वडा अध्यक्ष जोशीले सबै मजदुरहरु एक भएर संगठनिक रुपमा अगाडी बढ्नुपर्ने बताए ।
महिला शाखा प्रमुख प्रेमा बडुले बर्षौदेखी खुटिया खोलाका छेउमा गिट्टी कुटेर जिवन निर्वाह गर्दै आएका महिलाहरु मध्ये अति विपन्न परिवारका २० जना महिलाहरुलाई छनौट गरेर आवश्यक सुरक्षा सामग्रीहरु सहयोग गरिएको बताइन् । उनले छाता , गिट्टी चाल्ने जाली , चस्मा , मास्क , हातमा लागउने पञ्जा, गिट्टी राख्ने भाडो, टिपिन डब्बा , कुटो , बेल्चा लगाएका सुरक्षा सामग्रीहरु सहयोग गरिएको बताइन् ।
उनले यस अघि पनि आयआर्जन मुलक तालिम , सिप पनि दिएकाले अझै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने बताइन् । सामाग्री पाएपछि खुसी ब्यक्त गर्दै स्थानिय महिला राधिका बिष्टले यस अघि केहि नपाएको अबस्थामा अब भने केहि आशा पलाएको बताइन् । उनले यो संगै आगामी दिनमा बाख्रा पालन , सिलाईकटाइ लगाएत केहि आय आर्जन मुलक तालिमहरु पनि आफुहरुलाई दिए अझै सहज हुने बताइन् ।
गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महिला शाखाकी प्रमुख प्रेमा बडुले गरेकी थिइन् । कार्यक्रममा गोदावरी नगरकार्यपालिका सदस्य एबम् वडा नं ८ की वडा सदस्य गणेशी बिसी चौधरीको पनि उपश्तिथी रहेको थियो ।
गो.न.पा ८ र ९ का अधिकाशं परिवार गिट्टी कुटेर जिवन निर्वाह गर्दै
गोदावरी नगरपालिकाको वडा नं ८ र ९ का अधिकाशं परिवार गिट्टी कुटेर जिवन निर्वाह गर्दै आइरहेका छन् । स्थानिय स्तरमा रोजगारीको अबसर नहुदा र खेतीपाती गर्नलाई जग्गाजमिन नहुदा दशक पहिले देखी स्थानियहरु दैनिक खुटिया खोलाको किनारमा गिट्टी कुटेर आफ्नो जिविकोपार्जन गरिरहेका हुन् ।
थुप्रै दुख कष्ट मोलेर भए पनि खोला किनारमा गिट्टी कुटेर जिविको पार्जन गर्नेको संख्या बढ्दै गएको छ । पाहाडवाट तराईमा झरेको १० बर्षभन्दा बढि भयो त्यहि बेलादेखी गिट्टी कुटेर घरपरिवारको खर्चको जोहो गरिरहेको खोलाको किनारमा गिट्टी कुट्दै गरेकी खन्टी बोहराले बताइन् । उनले बढि जसो न्युन आयस्तर भएका स्थानियहरुको बसोबास रहेको बल्मीका साना केटाकेटी देखी ७० बर्ष सम्मका बृद्धबृद्धाहरु गिट्टी कुट्नकै लागि खुटिया खोला आउने गरेको बताइन् । उनले भनिन् – “घरमा कमाउने कोही छैन , छोराहरु घरमा त्यसै बसेका छन् रोजगारी पाउदैनन् घर गुजरा त चलाउनुपञ्र्यो काहाँवाट ल्याउने त्यहि भएर दिनभर यहि खोलामा गिट्टी कुट्छौ अनि साझ बिहानका लागि चामल दाल किनेर लैजान्छौ । ”
अहिले खुटिया खोलको किनारमा करिब ५०÷६० परिवारका सय भन्दा बढि स्थानिय महिला ,पुरुष ,केटाकेटी र बृद्धबृद्धाहरुको रोजगार चलेको छ । यद्धपी सुरक्षा , स्वास्थ्य र आवश्यक पर्ने औजारको अभावले उनिहरुलाई निकै कठिनाइ भैरहेको छ ।उनीहरुले आफुले कुटेर बनाएको गिट्टी १ घनमिटर बराबर २ हजारमा बिक्री गर्ने गर्दछन् । क्रेशर नचलेको बेला केहि महङ्गोमा जाने गरेपनि क्रेशर चल्दा भाउ निकै घट्ने गर्दा मेहेनत धेरै लाग्ने गरेको बल्मीकै स्थानीय महिला चन्द्रा बिष्टले बताइन् । आखा समेत राम्रो संग देख्न नसक्ने ७० बर्षिय बृद्धा पदमा ठकुल्लाले आफु ८ बर्षदेखी सोहि खोलामा गिट्टी कुटेर गुजरा चलाइरहेको बताइन् ।
उनले घरमा कमाउने कोहि नहुदा केटा केटीहरुको पालनपोषण ,शिक्षादिक्षा ,स्वास्थ्य सबै खर्च चलाउन हाम्मे हाम्मे परेपछि घरगुजरा चलाउनकै लागि गिट्टी कुट्न सुरु गरेको बताइन् । उनले अहिले सम्म भत्ताको कागज बन्न नसक्दा सरकारको एक पैसा पनि आफुले नपाएको बताइन् । आफुहरुले गिट्टी कुट्न सुरु गरेदेखी अहिले सम्म थुप्रै सरकार फेरिए पनि कसैले आफ्ना बारेमा नसोचेको उनिहरुको गुनासो गर्दै आएका छन् ।