डोटी - जिल्लाको पूर्वीचौकीमा चितुवाको आक्रमणबाट बालकसहित ५ जना घाइते भएका छन् । मंगलबार साँझ जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ बटाला गाउँमा चितुवाले आक्रमण गरेको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार घाइते हुनेमा ४५ वर्षीया सरुदेवी बटाला, उनका चार वर्षीय नाति शिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीय लाली गिरी र १० वर्षीया हसिना गिरी रहेका छन्।
चार वर्षीया बालक सिद्ध बटाला घरको आगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो। स्थानीयले होहल्ला गर्दै भगाए। तर जंगलबाट घर फर्किरहेकाहरुलाई चितुवाले फेरि आक्रमण गरेको हो। उनीहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक जोशीले बताए। घाइते सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। चितुवाले शारदा देवी बटालाको एक बाख्रालाई समेत आक्रमण गरेको छ।