धनगढी - गौकन्द्री खोलामा साथीहरुसंग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका धनगढीका एक बालक मृत भेटिएका छन् । धनगढी उपमहानगरपालिका–१९ का दिपक बिकका ११ वर्षीय छोरा निखिल बिक मृत भेटिएका हुन् ।
मृतक बिकको शव कैलारी गाउँपालिकास्थित गौकन्द्री खोलाको ८०० मिटर दक्षीणतर्फ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बिक असार १५ मा कैलारी गाउँपालिका वडा नं ६ आफ्नो मामाघर गएका थिए । उनी मामाघर गएको अवस्थामा त्यहाँको गौकन्द्री खोलामा साथीहरुसंग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
बेपत्ता भएका उनको खोजतलास गर्ने क्रममा आज (शुक्रबार) विहान ९ बजे खोलाको किनारमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
यस्तै प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । मृतकको शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको छ ।