दार्चुला - यूएईमा मृत्युदण्ड कुरेर बसेका दार्चुलाको दुुहुँ गाउँपालिकाका अमर बहादुर बमको रिहाईको माग गरेका छन् । दार्चुलामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले मृत्युदण्ड कुरेर बसेका अमर बहादुर बमको रिहाईको लागि राष्ट्रपति विद्यादेवि भण्डारीलाइ संयुक्त रुपमा आग्रह गरेका छन् । नेकपा एमाले पोलिटव्युरो सदस्य,पुर्व मन्त्री एवं दार्चुला जिल्लाबाट निर्वाचित सांसद गणेशसिह ठगुन्नाको नेतृत्वमा राष्ट्रपति कार्यालय शितलनिवासमा पुगी यूएईमा मृत्युदण्डको सजाय सुनाईएर १९ बर्षदेखि कारगारको जीवन बिताईरहेका दार्चुला जिल्ला धारी गाबिसका अमर बहादुर बमलाई रिहाई गराउनुका लागि आग्रह गर्दै राष्ट्रपति भण्डारी समक्ष अनुरोध गरिएको नेकपा एमाले दार्चुलाका अध्यक्ष प्रेम सिह धामीले बताए । अनुरोध पछि राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलेका राजाको मृत्यु भएको तथा अहिले नयाँ आएका राजा संग कुराकानी गर्ने जानकारी दिए ।
विदेशमा गएर पैसा कमाई घरपरिवारलाई सुखसँग पाल्ने सपना बुन्दै सन् २००३ मा सवारी साधन चालकको काममा युएई गएका दार्चुला धारी गाबिसका अमर बहादुर बमलाई दुबईको इन्डियन क्लबमा भारतीय नागरिक शरद सेठ्ठीको हत्याको आरोपमा मृत्युदण्डको सजाय सुनाईएको थियो । भारतकै मनोज मुदाना र करन सिंह राजपुतले गोली हानी सेठ्ठीको हत्या गरेको र उनीहरूको गाडी चलाउँदै आएका बम पनि हत्याको आरोपमा पक्राउ पर्नु भएको थियो । अमरलाई गाडीमै कुर्न लगाएर क्लबभित्र छिरेका मनोज र करनले हत्या गरेको र हत्यारालाई बचाउन सहयोग गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाईएको थियो । यो भन्दा पहिले विभिन्न नेपाली संघ संस्थाहरुले अमरलाई रिहाई गर्न अनुरोध गरेता पनि सरकारबाट कुनै ठोस् पहल नभएका कारण अझैसम्म रिहाई हुन सकेको छैन ।
राष्ट्रपति संगको भेटघाट कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष प्रेमसिह धामी,व्यास गाउँपालिका अध्यक्ष मंगलसिह धामी,महाकाली नगर प्रमुख नरसिह चैसिर,शैल्यशिखर नगरप्रमुख विजयसिह धामी,महाकाली नगर उपप्रमुख दुर्गा खत्री विष्ट र शैल्यशिखर नगर उपप्रमुख शान्ती खडायत सहभागी रहेका थिए । त्यस्तै मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामी,लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशी, नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटि सदस्यद्वय मोहनसिह धामी, हरदेव जोशी र नेकपा एमाले जिल्ला कमिटि उपसचिव खडकसिह बडाल खेलकुद क्षेत्रका जगत सिह धामीको सहभागि थिए ।