अत्तरिया - देशभर कोरोनाका बिरामीसंगै मौसमी फ्लूका बिरामीहरुको संख्या बढेको छ । मौसममा आएको परिवर्तनका कारण यता कैलालीमा पनि दैनिक मौसमी फ्लूका बिरामीहरुको चाप बढ्न थालेको हो ।
सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा रहेको निजि क्लिनिक तथा सरकारी स्वास्थ्य संस्थाहरुमा अहिले मौसमी फ्लूका बिरामीको चाप बढ्न थालेको पाइएको छ ।
विगत ४ ५ दिनदेखि कैलाली र कञ्चनपुरमा बाक्लो हुस्सु र शितलहरका कारण बढेको अत्यधिक चिसोका कारण मौसमी फ्लूका बिरामीको संख्यामा बढेको अत्तरियामा रहेको एक निजि क्लिनिकका संचालकले बताए । उनले पहिलेको तुलनामा अहिले दैनिक बिरामीहरुको संख्या बढेको बताए ।
यस्तै गोदावरी ३ मा रहेको यस क्षेत्रको पुराना सरकारी अस्पताल मालाखेती अस्पतालमा पनि मौसमी बिरामीहरुको संख्या बढेको छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार अहिले दैनिक ८० देखी १०० जना सम्म मौसमी फ्लूका बिरामीहरु अस्पतालमा पुग्न थालेका छन् । अहिले मौसमी रुघाखोकी, बालबालिकामा निमोनियाको समस्या, वृद्ध वृद्धामा श्वासप्रश्वासको समस्या लिएर बिरामीहरु अस्पताल सम्म पुग्ने गरेको पाइएको छ ।
यसैगरि सुदूरपश्चिम प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा पछिल्लो समय दैनिक बढिमा साढे चार सय बिरामी उपचारका लागि पुग्न थालेका छन् । बिहीबार मात्र सो अस्पतालबाट तीन सय ५० जनाले ओपीडी र ५२ जनाले इमरजेन्सी सेवा लिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
जुन संख्या नियमित चेकजाँच गराउने आउनेहरुको तुलनामा धेरै हो । यस्तै कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा समेत मौसमी फ्लुका बिरामीको संख्या बढेको छ । महाकाली प्रादेशिक अस्पतालकी सूचना अधिकारी उसा भट्टले अहिले दैनिक दुई सयदेखि दुई सय ५० जना विरामी उपचारका लागि आउने गरेको बताइन् ।
अहिले खासगरी मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, झाडापाखला, दम लगायतका समस्या भएका बिरामीको संख्यामा वृद्धि भएको छ ।
चिकित्सकहरुका भनाइमा कोरोना भाइरस र मौसमी फ्लुका बिरामीहरुमा मिल्दोजुुल्दा लक्षण देखिन थालेका कारण पनि मानिसहरु आत्तिएर उपचारका लागि अस्पताल पुुग्न थालेका छन् । तर चिकित्सकहरुले भने स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्दै सर्तकता अपनाउन आग्रह गरेका छन् ।