अत्तरिया - कैलालीको गोदावरी नगरपालिका भित्रका जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा बाफतको भत्ता लिन समस्या हुन थालेको छ । सरकारले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता बाफतको रकम बैंक मार्फत मात्रै दिन भनेपछि यहाँका जेष्ठ नागरिकहरुलाई बर्षेनी समस्या हुन थालेका हो ।
भत्ता लिनकै लागि भनेर बृद्धबृद्धाहरु बिहानै ६ बजे गएर बैंकमा लाईन लाग्न बाध्य रहेका छन् । बैंकहरु बिहान १० बजेपछि मात्रै खुल्ने गरेको भएपनि जेष्ठ नागरिकहरु भने भत्ता लिनकै लागि बिहान ६ बजे घरवाट आएर बैंकको अगाडी लाईन लाग्ने गरेका छन् ।
अत्तरियामा रहेको कुमारी बैंक अगाडी भेटिएकी गोदावरी नगरपालिका वडा नं २ की ८० बर्षिय बृद्धा पानादेवी महराले सरकारले आफ्ना लागि भत्ता दिएर धेरै राम्रो सहायता गरेपनि भत्ता लिनका लागि भने बर्षेनी समस्या हुने गरेको गुनासो गरिन् ।
उनले पछि दिउँसो ढिलो आए पालो पाइदैन की भनेर बिहानै उठेर बैंकमा आएर बस्नु परेको बताइन् । उनी जस्तै धेरै बृद्धबृद्धाहरु आफ्नो भत्ता बाफतको पैसा लिनका लागि भनेर हातमा भत्ताको कार्ड बोकेर बिहानै ६ बजे बैंकको अगाडी लाईन लागेर बस्न बाध्य रहेका छन् । कुमारी बैंक मात्रै होइन नगरपालिकाले भत्ता दिनका लागि अनुमति दिएको अत्तरियाका अन्य बैंकहरुमा पनि बिहानैवाट भिड लाग्ने गरेको छ । एकतिर कोरोना जोखिम कायमै रहेको र अर्को तिर चर्को गर्मीमा बाहिर लाइन लागेर बस्नुपर्दा बृद्धबृद्धाहरुले निकै दुख पाइरहेको गोदावरी १ का स्थानिय छबिन्द्र नाथ योगीले बताए ।
'हामी राम्रै युवाहरुले केही समय बाहिर घाममा एक मिनेट पनि उभिन सक्दैनौ तर हाम्रा बुढा आमा बुवाहरु कसरी बाहिर घामघाममा उभिन सक्छन होला उनले भने - 'जनप्रतिनिधिहरु के कामका लागि भएका हुन् , गाउँ गाउँमा जनप्रतिनिधि भएपनि बुढापाखाहरुले भत्ताको रकम लिनका लागि सकिनसकि अझै लाईनमै बस्नुपर्ने यो कस्तो बाध्यता हो ।'
उनले आफ्नै बृद्ध बुवा भत्ता लिन बैंकमा पुग्दा गर्मीका कारण बेहोस भएको बताउदै यस तर्फ गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरुको ध्यान जानुपर्ने बताए । बिहानै ६ बजे भोकभोकै बैंकमा पुगेर पनि साझँ सम्म पनि पालो नआउदाँ रित्तै हात घर फर्किएर दोस्रो दिन आउने परेको बैंक अगाडी भेटिएका जेष्ठ नागरिकहरुले गुनासो पोखेका छन् ।
गाउँ गाउँमा सिंहदरबारको नारा लगाउदै निर्वाचित भएका अहिलेका जनप्रतिनिधिहरुले यस बिषयमा भने कुनै चासो देखिएको छैन । वडा वडामा ५÷५ जना जनप्रतिनिधिहरु भएपनि जेष्ठ नागरिकहरुका दुख भने जस्ताकै त्यस्तै रहेका छन् । यता गोदावरी नगरपालिकाले केन्द्रकै निर्देशन अनुसार सामाजिक सुरक्षा बाफतको रकम बितरणका लागि अत्तरिया क्षेत्रमा रहेका बिभिन्न १० वटा बैंकहरुलाई अनुमती प्रदान गरिएको बताएको छ ।
जसमा वडा नं. १ र २ का जेष्ठ नागरिकहरुलाई कुमारी बैंकवाट , वडा नं ३ र ५ का लाई प्रभु बैंक, वडा नं. ४ का लाई मेघा बैंक , वडा नं. ६ का लाई माछापुच्छ्रे बैंक र वडा नं. ७ का लाई सिद्धार्थ बैंकवाट सामाजिक सुरक्षा बाफतको रकम उपलब्ध गराउदै आएको छ गोदावरी नगरपालिकाका प्रबक्ता एबम् वडा नं १ का वडा अध्यक्ष शर्मानन्द भट्टले जानकारी दिए । यस्तै वडा नं. ८ का लाई सनराईज बैंक , वडा नं. ९ का लाई महालक्ष्मी विकाश बैंक , वडा नंं १० का लाई गरिमा विकाश बैंक , वडा नं. ११ का लाई प्राईम बैंक र वडा नं. १२ का जेष्ठ नागरिकहरुलाई सांग्रिला विकाश बैंकवाट भत्ता उपलब्ध गराइदै आएको उनले बताए ।
सबै बैंकहरुसंग ३ बर्षका लागि सम्झौता गरिएको छ । उनले आफूहरु निर्वाचित भएर आइसके पश्चात सुरुवातका दुई बर्षजति वडा वडा मार्फत भत्ता वितरण गरेपनि पछि केन्द्रको निर्देशन बमोजिम बैंकवाट मात्रै दिने भनेपछि समस्या भएको बताए ।
केन्द्रको निर्देशन बमोजिम आफूहरुले नाम मात्रै पठाउने बाकिँ सबै काम केन्द्रवाटै हुने हुदाँ यसमा आफुहरुले केही गर्न नसक्ने उनले बताए ।
यद्धपी बैंक सम्म पुग्न नसक्ने अति अशक्त र बिरामी अबस्थामा रहेका बृद्धबृद्धाहरुलाई घरमै गएर पनि भत्ता उपलब्ध गराउन बैंकलाई आग्रह गरिएको उनले बताए ।
बैंकहरुले पनि अन्तिममा बैंक सम्म पुग्न नसक्नेहरुलाई घर घरमै गएर भत्ता उपलब्ध गराउदै आएको बताएकाछन् ।