डोटी - जिल्लामा विगत एक हप्तादेखि चितुवाले आतङ्क मच्चाउन थालेको छ ।जिल्लाको शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा चितुवाले आतङ्क मच्चाउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । स्थानीयवासी तेजबहादुर बोगटीका अनुसार चितुवाले एक हप्ताको अवधिमा कम्तीमा पनि आठ चौपाया मारेको छ ।
सोही वडाका खगेन्द्र बोगटीको गाईको बाच्छो, कलुदेवी बोगटीको गाई, शेरबहादुर बोगटीका चार बाख्रा र करी पार्कीका दुईवटा बाख्रा चितुवा मारेको उहाँले जानकारी दिए । उनले भने , “केही दिनयतादेखि चितुवाले आतङ्क मच्चाउन थालेको छ, हाम्रै गाउँमा आठ चौपाया मारिसक्यो ।चितुवाले दिनहुँ गाउँ तथा जङ्गलमा त्रास उत्पन्न गराउन थालेपछि यहाँका स्थानीयवासी त्रसीत बनेका छन् । प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले चितुवाले आतङ्क मच्चाइरहेको भन्ने खबर पाएपछि सो क्षेत्रमा प्रहरी टोली खटाइएको बताए । उनले भने , “चितुवाले आतङ्क मच्चाउन थालेको भन्ने खबर आएको छ, क्षतिका बारेमा बुझ्न प्रहरी टोली पठाएका छौँ, चितुवा नियन्त्रणमा लिने प्रयास गर्ने छौँ ।
स्थानीयवासी रामबहादुर बोगटीका अनुसार गाउँ नजिकै पर्ने कुयपानी सामुदायिक वनभित्र पर्ने जङ्गलमा विगत लामो समयदेखि एउटा चितुवा बस्दै आएको र दिउँसो वनमा डुल्ने राति गाउँभित्रै पसेर गाउँमा आतङ्क मच्चाइरहेको छ । सम्भावित मानवीय जोखिमलाई मध्यनजर गर्दै उक्त चितुवालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयलाई गाउँवासीले आग्रह गरेका छन् रासस