धनगढी - साझा विवेकशिल पार्टीले सुदूरपश्चिममा जेठ १ गतेदेखि भ्रष्टाचार विरुद्धको महाअभियान सञ्चालन गर्ने भएको छ । सोमवार साझा विवेकशिल पार्टीले धनगढीमा पत्रकार सम्मेलन गर्दै जेठ १ गतेदेखि भ्रष्टाचार विरुद्धको महाअभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।
साझा विवेकशिल पार्टीका सुदूरपश्चिम प्रदेश संयोजक गोपाल हमालले गाउँ गाउँमा आएको सिंहदरबारसंगै भ्रष्टाचार पनि पुगेकाले भ्रष्टाचारलाई रोक्न सबैको दायित्व भएकाले नागरिक जनजागरणको रुपमा अभियान सञ्चालन गरिने लागेको बताए । जनताले विकास र समृद्धिका लागि मत दिएपनि दुरुपयोग भइरहेको बताउदै उनले अहिलेकै गतिमा भ्रष्टाचार भएमा समाज र देश नै सकिने हुँदा नागरिकलाई सचेत गराउने अभियानको उद्देश्य रहेको बताए ।
भ्रष्टाचार विरुद्धको महाअभियानमा पार्टीका केन्द्रीय संयोजक रविन्द्र मिश्र, पार्टी प्रवक्ता सुर्यराज आचार्य, संगठन विभाग प्रमुख मुमाराम खनाल लगायतका नेताहरुको सहभागिता रहने संयोजक हमालले जानकारी दिए । कैलालीको टीकापुरबाट सुरु हुने महाअभियान अन्तरगत प्रदेशका नौ वटै जिल्लाका २६ स्थानमा कोणसभाको आयोजना गरिने साझा विवेकशिल पार्टीले जनाएको छ ।