काठमाडौं - उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच आज पार्टी एकता घोषणा भएको छ। पार्टी एकताबाट 'समाजवादी पार्टी नेपाल' बनेको छ । नयाँ पार्टी एकीकरणको घोषणा सोमबार प्रज्ञा भवन कमलादीमा भएको हो ।
यो घोषणासभामा समाजवादी पार्टी नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अपनाउने नीति बनाएको छ । एकता सभाका क्रममा पार्टीका नेता रामसहायप्रसाद यादवले वाचन गरेको दुई पार्टीबीच एकताको घोषणापत्रमा यस्तो उल्लेख गरिएको हो । घोषणा पत्रमा पूर्ण समानुपातिक समावेशी संसदीय प्रणाली अपनाउने कुरा उल्लेख गरिएको छ ।
त्यसैगरी समाजवादी पार्टी नेपालले संविधान संशोधन गरेर ११ प्रदेश बनाउनुपर्ने आफ्नो मान्यता पनि सार्वजनिक गरेको छ। एकता सभाका क्रममा आजैका मितिदेखि नयाँ शक्ति र फोरम नेपाल विघटन गरिएको घोषणा पनि गरियो । दुई पार्टी एक भएपछि समाजवादी पार्टी नेपालले समाजवादी विचारधारा व्यक्ति र अन्य पार्टीलाई एकतामा आउन पनि आह्वान गरेको छ। समाजवादी पार्टी नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै प्राप्त उलब्धीको रक्षा र विकास गर्नुलाई आफ्नो मुख्य राजनीतिक कार्यदिशा बनाएको छ ।
नवगठित पार्टीको संघीय परिषद् अध्यक्षमा डा बाबुराम भट्टराई रहनेछन् भने केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादव रहने छन्। त्यस्तै वरिष्ठ नेतामा अशोक राई तथा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ रहनेछन्। समाजवादी पार्टीमा ८ उपाध्यक्षहरू रहने छन्। उपाध्यक्षहरूमा नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणु यादव, लालबाबु राउत, हिसिला यमी र, यमराज राई रहनेछन्।
त्यस्तै ३ महासचिवमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा, रामसहायप्रसाद यादव रहेका छन्।पार्टीको उपमहासचिवहरूमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा र प्रकाश अधिकारी रहेका छन्। यस्तै सचिवहरूमा महोमद ईस्तियाक राई, दुर्गा सोप, पर्शुराम बस्नेत र प्रशान्त सिंह छन्। कोषाध्यक्षमा विजयकुमार यादव रहेका छन्।