काठमान्डौ -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा नेकपा एमालेले जस्तै दम्भ नेपाली कांग्रेसले पनि देखाउन खोजे ठेगान लाउने बताएका छन्। देशभरका २४९ जना प्रतिनिधिहरूलाई काठमाडौंमा बुधबार प्रशिक्षण दिने क्रममा उनले कांग्रेसलाई यस्तो चेतावनी दिएका छन्।
'कांग्रेसले पनि एमालेले जस्तै दम्भ देखायो भने ठेगान लगाइदिन्छौँ। अहंकार र दम्भले कसैलाई राम्रो गर्दैन ख्याल गरे हुन्छ', उनले भने, 'कांग्रेस फेरि एमाले जस्तै अहंकारी हुने हो कि भनेर देशभरबाट हामीलाई रिपोर्ट आइरहेको छ। हामी त क्रान्तिकारी हौँ, अहंकार र दम्भ आयो भने हामी कांग्रेसलाई पनि ठोक्दै जान्छौँ।'
उनले यसअघि सोमबार बालुवाटारमा बसेको सत्तारुढ दलको गठबन्धन बैठकमा आफू ले यसबारे गम्भीरतापूर्वक कुरा राखिदिएको पनि बताएका छन्।
'हामीले बालुवाटारको गठबन्धन बैठकमा गम्भीर ढंगले यसबारे कुरा उठाइदिएका छौँ। यो गठबन्धनलाई लिएर जाने नै हो। तर कांग्रेसमा अहंकार नआओस्', उनले भने, 'माओवादीलाई तह लाउने भनेर कांग्रेसले घमण्ड नदेखाओस्। अहिले हामीले जितेका १२२ पालिका अब हाम्रा आधार इलाका हुनुपर्यो।'
उनले स्थानीय तह निर्वाचनमा कांग्रेसले धेरै जित्ने कुरा आफूलाई थाहा भएको पनि बताए। कांग्रेसले धेरै सिट जितेपछि केही नेताहरुले दम्भ र अहंकार देखाउन थालिसकेको बताउँदै यदि यो बढ्दै गएमा आफूहरु चुप नबस्ने बताए।तर उनले संविधान र लोकतन्त्रको रक्षाका लागि यो गठबन्धनलाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म लैजान आफू तयार रहेको पनि बताए।