ग्रिसमा भएको सवारी दुर्घटनामा परी कैलालीका एक जना सहित चार नेपालीको मृत्यु भएको छ । मंसिर महिनाको पहिलो साता गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका कैलालीका एक युवकसंगै चारै जना नेपाली रहेको पुष्टि भएको हो ।
मृत्यु हुनेमा कैलालीको गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा , भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा रहेका छन् ।
कैलालीका सापकोटाको यसअघि नै सनाखत भए पनि अन्यको सनाखत हुन बाँकी थियो । ग्रिस प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा मृतकको फोटो राखेको थियो ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर मृतकका परिवारले फोटो मार्फत शवको पहिचान गरेपछि सनाखत भएको नेपाली राजदूतावास भियनाले जनाएको छ ।
अब शवलाई नेपाल पठाउने प्रक्रिया सुरु गरिएको छ । दुर्घटनामा घाइते भएका अन्य दुई नेपालीको अवस्था भने सामान्य रहेको छ । कैलालीको गौरीगंगा नगरपालिका–४ कै लोकराज आचार्य र भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा सोही गाडी दुर्घटनामा परेर बाँच्न सफल भएका थिए ।
हाल ग्रिसको एथेन्स सहरमा रहेका उनीहरुबाट नै गाडीमा अन्य ४ जना नेपालीहरु पनि सवार रहेको खुल्न आएको थियो । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा चार नेपालीसहित सातजना आप्रवासीको सो दुर्घटनामा मृत्यु भएको थियो ।