अत्तरिया - कैलालीको गोदावरी नगरपालिका ३ चौकिडाँडामा रहेको मालाखेती अस्पतालमा आइतवार देखी आकस्मिक सेवा सुरु भएको छ । गोदावरी नगरपालिका मातहत रहेको यस क्षेत्रको पुरानो सरकारी अस्पताल मालाखेती अस्पतालमा आउने बिरामीहरुको स्वास्थ्य सेवालाई मध्यनगर गर्दै आजदेखी चौबिसै घण्टाका लागि आकस्मिक सेवा सुरु गरिएको हो ।
गोदावरी नगरपालिका स्वास्थ्य शाखाका बिष्णु जोशीका अनुसार अस्पतालमा अनिवार्य हुनुपर्ने आकस्मिक सेवा सुचारु गरि यस क्षेत्र बिरामीहरुलाई चौबिसै घण्टा सेवा दिनका लागि आजदेखी सेवाको सुरुवात गरिएको हो । स्वास्थ्य उपचारका लागि कैलाली सहित कञ्चनपुरको कृष्णपुरवाट समेत बिरामीहरु आउने मालाखेती अस्पतालमा बिरामीहरुले अब जुनसुकै समयमा पनि उपचार गर्न पाउने जोशीले जानकारी दिए ।
उनले हाल अस्पतालमा रहेका चार जना बिशेषज्ञ डाक्टरहरुले बिरामीलाई दिन रात चौबिसै घण्टा सेवा दिने बताए । यस अघि आकस्मिक सेवा नहुदा रातिको समयमा टाढा टाढा आउने बिरामीहरुलाई अन्यत्रै पठाउने गरेको भएपनि अब भने चौबिसै घण्टा सेवा उपलब्ध रहेको उनले बताए । अहिले मालाखेती अस्पतालमा आकस्मिक सेवा संगै आमा सुरक्षा कार्यक्रम, ईसीजी सेवा , ल्याब सेवा रहेको अब बिस्तारै अन्य सेवा सुबिधाहरु प्नि थपिदै गइरहेको जोशीले बताए ।
सरकारी अस्पताल भनेर टाढावाट आउने बिरामीहरुलाई कसरी सहज र सरल तरिकाले सेवा दिन सकिन्छ भन्ने तर्फ आफुहरुले अस्पतालको ब्यबस्थापन सुधार गर्दै गइरहेको उनको भनाइ छ ।