अत्तरिया - कैलालीको गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाका २ जना बालकमा दादुरा संक्रमण देखिएको छ । गोदावरी नगरपालिका‐३ भैसीहारका पाँच वर्ष १० महिना र गौरीगङ्गा नगरपालिका‐६ का १८ महिने बालकमा दादुरा संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीका अनुसार दादुराविरुद्धको खोप लगाएका २ बालकमा दादुरा देखिएको हो । गौरीगङ्गाको बालकमा डोटीबाट फर्केपछि दादुरा देखिएको जनाइएको छ ।
यस्तै, धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका दुई बच्चामा पनि दादुराको लक्षण देखिएको छ । उनीहरूको नमुना सङ्कलन गरेर ल्याबमा पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख धामीले जानकारी दिए ।