काठमाडौँ - बिहीबार ३५ औँ विश्व एड्स दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाईंदै छ। सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिएको छ। यस वर्ष दिवसको नारा ‘एड्स अन्त्यका लागि, समानताको सुनिश्चितता’ भन्ने तय गरिएको छ।
एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन यो अभियान सुरु गरिएको हो।
सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ। केन्द्रको तथ्याङ्क अनुसार नेपालमा एचआईभी एड्स सङ्क्रमणदर घट्दै गएको पाइएको छ।
दुई दशकमा नयाँ एचआईभी सङ्क्रमणदर झण्डै ८४ प्रतिशतले घटेको छ। एड्सका कारण हुने मृत्यु ७१ प्रतिशतले घटेको छ। दिगो विकास लक्ष्य अन्तर्गत नेपालले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्य राखेको छ।
चिकित्सकहरूका अनुसार एचआइभी संक्रमित व्यक्ति एड्सको अवस्थामा पुग्न करिब दशौँ वर्ष लाग्छ। समयमै पहिचान भएर उपचार भए एड्सको अवस्था नआउने चिकित्सकहरू बताउँछन्।