काठमाडौं - सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड १९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।
सरकारले फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो । त्यही सम्झौता अनुरुप पहिलो खेपको खोप आएको हो । खोपको दोस्रो खेप पनि फागुन २३ गते अगावै आउने स्वास्थ्य मन्त्रालयस्थित उच्च स्रोतले दाबी गरेको छ ।
खोप विमानस्थलबाट भण्डारणका लागि टेकुस्थित ’कोल्डरुम’ मा लगिएको छ । यही फागुन २३ गतेदेखि सञ्चालन हुने नयाँ खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दोस्रो चरणमा ६० वर्ष माथिका नागरिक र जोखिम समूहलाई प्राथमिकता दिइनेछ । माघ ८ गते १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो । जस अनुसार पहिलो चरणको खोप अभियान सञ्चालन सञ्चालन गरेको थियो ।