काठमाडौं - युवा कवि मोतीराम भट्टको १५७ औँ जन्मजयन्ती शनिबार परेको छ।
साहित्यकार तथा साहित्यिक प्रतिष्ठानहरुले उनको व्यक्तित्व तथा कृतित्वमाथि विश्लेषण गर्दै जन्मजयन्ती मनाउँदै छन्। राष्ट्रिय विभूति समेत रहेका उनको १ सय ५६ वर्ष पहिले विसं १९२३ भाद्र कृष्ण औशी अर्थात् कुशे औँशीकै दिन जन्म भएको थियो।
नेपाली गजलका महानायक मानिएका भट्टको कथा, नाटक, निबन्ध पनि कलम त्यत्तिकै बलियो रहेको थियो। कुशे औँसीका दिन जन्मेका उनको वि।सं। १९५३ कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमै निधन भएको थियो। शृङगार रसलाई केन्द्रविन्दुमा राखेर उनले गजल रचना गरेका थिए।
तत्कालीन समयमा नेपालकै दरबारभित्र हिन्दी, उर्दूका नाटकहरूको बोलबाला हुँदा नेपाली भाषामा शकुन्तला, प्रियदर्शिका र पद्मावती जस्ता नेपाली नाटक मोतीरामले लेखेका थिए । उनकै प्रयासले दरबारभित्र नेपाली भाषाको नाटकले प्रवेश पाएको देखिन्छ । मोतीरामकै प्रयासबाट नेपालीमा गजल लेखन प्रारम्भ भयो ।
युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए।पेसाका दृष्टिले मोतीमण्डलीको स्थापना, समस्यापूर्तिका आरम्भकर्ता, भारत जीवन प्रेसका संस्थापक, मोतीकृष्ण धीरेन्द्र कम्पनीका संस्थापक, पाशुपत छापाखानाका संस्थापक भनेर चिनिने उनी देव शमशेरका नजिकका साथी पनि थिए ।
उनको साहित्य रचना मात्र नभइ पत्रकारितामा पनि हात चलेको पुराना साहित्यकार बताउछन्। उनले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गरेका थिए।