अत्तरिया - नेपाली कथानक चलचित्र 'ओभरडोज' प्रदर्शनमा आउन लागेको छ । यो चलचित्र यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको हो ।
अध्ययनको सिलसिलामा ७ वर्षदेखि अमेरिका बस्दै आएका अभिनेता प्रनिशराज पन्त चलचित्र 'ओभरडोज' प्रदर्शनको पूर्वसन्ध्यामा नेपाल आएका छन् । अभिनेता पन्तले चलचित्रलाई दर्शकले रुचाउनेमा विश्वास समेत व्यक्त गरेका छन् ।
उनले चलचित्र निर्माणमा एकदमै मेहनत गरेको र मेहनत देखिने बेला भएकोले एकदमै उत्साहित रहेको बताए । चलचित्रलाई दर्शकले रुचाउनेमा उनले विश्वास ब्यक्त गरे । उनको यो पहिलो चलचित्र हो । प्रनिशले आफूलाई बच्चैदेखि अभिनयमा रुचि भएपनि नेपालमा हुँदा त्यो माहोल नबनेको बताएका छन् । ‘पहिले घरबाट सपोर्ट थिएन ।
बाहिर गएपछि अभिनयको बाटो खुल्यो,’ उनले भने । अमेरिका बस्ने दुई नेपाली युवाको कथा समेटिएको ‘ओभरडोज’ अमेरिकामै छायांकन गरिएको चलचित्र हो । सुमन पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रमा ड्रग्स र अपराधको कथा देखाउन खोजिएको छ ।
अभिनेता पन्तले चलचित्रमा मित्रता र धोकाको कथा पनि देखाइएको बताए । चलचित्रमा प्रनिशराजसँगै सविनजंग थापा, वीना श्रेष्ठ, सदीक्षा कार्की लगायतको अभिनय छ । दादा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता जीवनकुमार केसी हुन् ।
गुच्ची भाइको छायांकन रहेको चलचित्रलाई साजन कार्कीले सम्पादन गरेका हुन् । चलचित्रलाई जीजीए ग्रुपले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्न लागेको हो ।