कञ्चनपुर - शुक्लाफाँटा नगरपालिकाका विपन्न परिवारका महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि च्याउ खेतीतर्फ उन्मुख गराइएको छ। नगरपालिकाको कृषि शाखाले महिलाहरूलाई च्याउ खेतीसम्बन्धी तालिम प्रदान गरी व्यावसायिक बनाउन थालेको हो।
महिलाहरूको २५ जनाको समूह निर्माण गरी च्याउ खेतीबारे आवश्यक तालिमसँगै अनुदानमा कन्याजातको च्याउको बीउ र टनेल निर्माणका लागि सामग्री उपलब्ध गराउने कार्य भइरहेको कृषि शाखाका प्राविधिक सहायक करन सिंह बुढाऐरले बताए।
‘वडा नं २, ३, ५, ८ र १२ का गरी १२५ जना महिलालाई तालिमका लागि छनोट गरी च्याउ खेतीका लागि आवश्यक सामग्री हस्तान्तरण गर्ने कार्य शुरु गरेका छौँ’ उनले भने, ‘वडा नं १२ र ८ मा तालिम संगै अनुदान सामग्री उपलब्ध गराइसकेका छौं। अन्य वडामा तालिम सञ्चालन भइरहेका छन्।’ तालिम लिएका महिलाहरूले अनिवार्य रुपमा च्याउन खेती गरेको हुनुपर्ने शर्त राखिएको छ।
विपन्न अवस्थाका महिलाको आर्थिक अवस्था सुदृढ गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नु हुँदै उनले महिलाहरूलाई तालिमका क्रममा च्याउ खेतीका लागि पराल तयार गर्ने कार्यसँगै प्लाष्टिक टनेल बनाउने, प्लाष्टिकका थैलामा च्याउको बिउ राख्ने र बिउ राखिसकेपछि अपनाउनुपर्ने सावधानीका बारेमा तालिमका क्रममा जानकारी दिने कार्य गरिँदै आएको बताए।
तालिममा सहभागी महिलाहरूलाई तीन किलो ५०० ग्रामका दरले च्याउको बिउ, प्लाष्टिक टनेल निर्माणका लागि आवश्यक प्लाष्टिक र परालको पोकामा बीउ राख्नका लागि प्रयोग हुने प्लाष्टिकका थैलासमेत अनुदानका रुपमा उपलव्ध गराउने व्यवस्था गरिएको उनले बताए।