चीन — चीनले कोरोना भाइरस प्रभावितको उपचारका लागि नयाँ अस्पताल निर्माण सम्पन्न गरेको छ । चीनको हुवाङगाङ सहरमा एक हजार शैय्याको अस्पताल भवन निर्माण भएको हो ।
अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर रातारात अस्पताल बनाइएको हो । यो अस्पताल बुधबार बिहान साढे १० बज पूर्ण रुपमा सञ्चालनमा आएको छ । अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामीलाई सारिएको छ । यस अस्पतालले २ हजार ३ सय कोराना भाइरस संक्रमित बिरामीहरुको उपचार गर्ने लक्ष्य लिएको छ । कोरोना भाइरस संक्रमितहरुका लागि निर्माण गरिएको यो अस्पताल विश्वकै पहिलो हो ।
यो अस्पताल ह्वाङगाङ केन्द्रीय अस्पतालको नयाँ शाखा अस्पताल हो । अस्पताल परिसरमा रहेको खाली भवनमा मेडिकल सेन्टर,शैय्या थपेर २ दिनमै तयार गरिएको हो । मे महिनामा खुल्ने भनिएको यो अस्पताल कोरोना भाइरसको संक्रमण फैलिरहँदा रफ्तारमा खोलिएको हो ।
शुक्रबारमात्रै स्थानीय निकायले उक्त भवनलाई कोरोना भाइरसको संक्रमितका लागि उपचारका निम्ति प्रयोग गर्न दिने निर्णय गरेको थियो । त्यसपछि शनिबारबाट काम सुरु गरिएको थियो । सोमबारसम्म स्वयंसेवकले सबै शैय्याहरुको व्यवस्था गरिसकेका थिए । त्यसैगरी पानी, बिजुली, इन्टरेनेटको सुविधा पनि थपियो। ५ सय भन्दा बढी कामदार तथा विभिन्न अत्याधुनिक उपरकरणको प्रयोग गरेर रातारात दुई दिनमा यो काम सम्पन्न गरिएको हो । ती सहरका सम्बन्धित अधिकारी भन्छन,‘यो प्रोजेक्ट हामीले ४८ घण्टामा सम्पन्न गर्न सक्यौँ । यो सबैको हातेमालोले गर्दा सम्भव भएको हो ।’
चीनको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित बुहान सहर ह्वाङगाङबाट ७५ किलामिटर टाढा छ । ह्वाङगाङको जनसंख्या ७५ लाख छ । मंगलबार सम्म ह्वाङगाङमा कोरोना भाइरसबाट ४ जनाको मृत्यु भइसकेको छ भने २१३ जना संक्रमित देखिएका छन् ।
चीनमा सन् २००३ मा ‘सार्स’ का कारण कम्तीमा ८ सय मानिस मरेका थिए। त्यसबेला पनि बेइजिङले एक साताभित्रै उत्तरी गाउँमा ‘सिआताङ्सान अस्पताल’ निर्माण गरेको थियो । स्थापना भएको दुई महिनाभित्र उक्त अस्पतालले देशमा संक्रमित भेटिएका मध्ये १५ प्रतिशतको उपचार गरेको थियो ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार बुधबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १ सय ३२ जनाले ज्यान गुमाएका छन् भने झन्डै ६ हजारमा यसको संक्रमण देखिएको छ ।